बढ्दै मिर्गौलाको जोखिम, के भन्छन् डा. हमाल ?

शनिबार, फागुन १२, २०८०

नेपालगन्ज । पछिल्लो समय मिर्गौलाको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन  सुझाव दिएका छन् । फेरिँदो जीवनशैली, खानपिन लगायतका कारणले मिर्गौलामा समस्या हुने क्रम अस्वभाविक रुपमा बढ्दै गएको भन्दै चिकित्सकहरुले समयमै सावधानी अपनाउन सुझाएका हुन् ।

भेरी अस्पताल नेपालगन्जका वरिष्ठ मिर्गौला रोग विशेष डा. सौरभ हमालले नेपालमा अहिले मृत्यु हुने कारण मध्ये मिर्गौला १०औं स्थानमा पर्छ । तर, अबको १० वर्षपछि यो तेस्रो स्थानमा आउन सक्ने भन्दै उनले सावधानी अपनाउन सुझाव दिएका छन् । 

लक्ष्मी सरस्वती पोलिक्लिनिक तथा डाइग्नोस्टिक सेन्टरद्वारा आज नेपालगन्जमा आयोजित स्वास्थ्यकर्मीहरुलाई मिर्गौला रोग व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उनले सुगर तथा प्रेसरका बिरामीहरुमा मिर्गौलाको जोखिम बढी हुने बताए । रगत, पिसाब र अल्ट्रासाउन्ड जाँच गर्ने हो भने धेरै हदसम्म मिर्गौलाको अवस्थाबारे थाहा हुने उनको भनाई छ ।

डायलाइसिस गराउनै पर्ने स्थितिसम्म पुग्नुपर्ने अवस्था आउन नदिन चेकजाँच नै उपयुुक्त विकल्प भएको पनि उनले बताए ।  उनले मिर्गौला रोगको पहिचान गर्न जोखिम समुदाय सबैको स्कृनिङ गर्न जरुरी रहेको बताए ।

शरीर सुनिने, शरीर चिलाउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिए मिर्गौलामा समस्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।  मिर्गौला रोगीले  नुनको मात्रा कम खाने, मदिरा तथा धूम्रपान सेवन नगर्ने, प्रोटिनको मात्रा मिलायर खाने हो भने आयु लम्ब्याउन सकिने पनि उनको भनाई छ । 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.हमालले मिर्गौला सुरक्षाका लागि सबै नागरिक सचेत हुन जरुरी रहेको बताए । मिर्गौला सुरक्षाबारे स्वास्थ्यकर्मीहरुलाई पनि विशेषज्ञ चिकित्सकबाट तथ्यपरक जानकारी प्रवाह गर्नका लागि कार्यक्रम गरिएको लक्ष्मी सरस्वती पोलिक्लिनिकले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्