गलत गर्ने जोसुकैलाई पनि छोडिन्न: गृहमन्त्री

शुक्रबार, फागुन ११, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताएका छन् । 

नेपालगन्जमा आज आयोजित पत्रकार भेटघाट तथा नागरिक समाजसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले बर्तमान सरकार राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतालाई बलियो बनाउने कार्यभारलाई पनि केन्द्रमा राखेर काम गरिरहेको बताए । उनले विकास र समृद्धिको यात्रामा फड्को मार्ने गरी काम गर्न सरकार पर्यत्नशील रहेको बताए । गृहमन्त्री श्रेष्ठले समाजमा देखिएका समस्या पहिचान गरेर समाधानको मोडेल तय गरिएको जानकारी दिँदै वर्तमान सरकारले सुशासनको पक्षमा नयाँ ढंगले अडिग भएर काम गरिरहेको बताए । 

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, अपराध र सामाजिक अन्यायका विरुद्ध सरकार शून्य सहनशीलताका अघि बढेको बताए । सुशासनको अभाव भएकाले यसअघि देशले फड्को मार्न नसकेको बताउँदै उनले अब तमाम बेथिति र अनियमितताविरुद्ध विश्राम नलिने प्रष्ट पारे । श्रेष्ठले दोषी, अपराधी र गलत गर्ने जोसुकैलाई सरकारले नछाड्ने दृढता व्यक्त गरे । 

उनले नेपालगन्नमा सम्पन्न दुई दिने सुरक्षा गोष्ठीमा शान्ति सुव्यवस्था कायम गर्ने विषयमा व्यापक र गम्भीर छलफल गरिएको जानकारी दिए । लुम्बिनी प्रदेश तथा प्रदेशका १२ वटै जिल्लाको सुरक्षा अवस्थाबारे छलफल गरेर थप रणनीति तय गरिएको गृहमन्त्री श्रेष्ठको भनाई छ । 

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, सहरी विकास मन्त्री कृष्णा केसी नमुना, पूर्व मन्त्री इश्तियाक राई लगायत उपस्थित थिए । कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्