बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइने

शुक्रबार, फागुन ११, २०८०

नेपालगन्ज । बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ ।

यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताए 

नेपालगन्जमा आज आयोजित दादुरा-रुबेला खोप अभियान सम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा खोप अभियानको तयारीबारे जानकारी गराइएको हो । जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी श्रेष्ठले जिल्लामा गरिएको तयारीबारे जानकारी गराएका हुन् ।  राप्तीसोनारीमा १८ हजार ६६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार १४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयको छ । ९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइनेछ ।

त्यसका लागि १ हजार २९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन हुनेछन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिनेछ ।

यो अभियान फागुन ३० गतेसम्म चल्नेछ । बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण केही बालबालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्