बालकुमारी घटना घटेकै दिन मन्त्री ज्वालाले राजीनामा दिनुपर्थ्यो: रघुजी पन्त

बिहीबार, फागुन १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सरकारका तीन जना मन्त्रीको नेकपा एमालेले राजीनामा माग गरेको छ । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका हुन् । 

त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उनले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानून विपरीत ठहरिएको रामग्रामको कार्यक्रम उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताए।

उनले भने – ‘उनको पर्यटनमन्त्रीले सिफारिस गरेको, उनले नियुक्त गरेको कार्यालय लामाले लुम्बिनी विकास कोषको हैसियतमा लुम्बिनीको रामग्राममा गरेको कामलाई सम्पूर्ण सरकारी माध्यमहरू, सम्बन्धित निकायहरू र लेखा समितिले समेत अनुपयुक्त र नियम र कानून विपरीत ठहर्‍याउँछ र उनले ती सबै फिर्ता लिनुहुन्छ । त्यस्ताका लहैलहैमा लागेर प्रधानमन्त्री त्यो कार्यक्रमको उद्घाटन गर्न जानुहुन्छ । यो के हो तागतले ?अनि प्रधानमन्त्रीले नैतिकताको भाषण गरेर हिँड्न मिल्छ ? नैतिक रूपमा पर्यटन मन्त्री र कार्यालय लामालाई उनले हटाउनुपर्छ उन यदि नैतिकतामा विश्वास गर्ने हो भने र उनले आफैले पनि जनताको अगाडी जवाफ दिनुपर्छ किन जानुभयो त्यहाँ ? अवैधानिक कामको उद्घाटन गर्न ? झन्डा हल्लाउँदै मन्त्री बयान दिन गएको दुर्दशापूर्ण स्थिति यसैपालि देखियो । अविलम्ब विवादमा परेका मन्त्रीहरूले राजीनामा दिनुपर्‍यो । बालकुमारी घटना हुनासाथ मन्त्री ज्वालाले पनि सोही दिन  राजीनामा दिनुपर्थ्यो ।’

सरकारमा रहेका ती तीन जना मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिएका छन । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्