भरतपुर महानगरपालिका बन्यो देशकै उत्कृष्ट पालिका

बिहीबार, फागुन १०, २०८०
Neuro hospital Nepalgunj

चितवन । भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशभरकै उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य ६ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९-८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।

आगामी आव २०८१-८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे-नगरेको, राजस्वको विभाजन गरे-नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गरेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए ।

असार १० भित्र बजेट ल्याए-नल्याएको, असार ३०  भित्र बजेट पास गरे-नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिए-नदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ ।

आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्याङ्कन गर्ने गर्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको अर्यालले बताए । 

काठमाडौँ महानगरपालिकाले ३९.२, वीरगञ्ज महानगरपालिकाले ३३.४९, विराटनगर महानगरपालिकाले ३२.८५, ललितपुर महानगरपालिकाले २५.१८ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अङ्क पाएका छन् ।

जिल्लाका ७ स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । भरतपुरले ५६.२९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ४२.०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४०.५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४०.१ प्रतिशत, कालिका नगरपालिकाले ३५.६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१.७५ प्रतिशत र माडी नगरपालिकाले २६.२० प्रतिशत अङ्क पाएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिकाभन्दा अगाडि रहेको बताइन् । 

गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गर्नुभयो । महानगरपालिकाले नेपाल सरकारले गर्ने मूल्याङ्कनमा सधैँ उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ । देशभरका सात सय ५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फछ्र्यौटलगायत विषयमा सधै उकृष्ट बन्दै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्