गगनको प्रतिवेदनले जगाएको कांग्रेसीको आशा

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । अहिले प्रतिनिधि सभा सदस्यको संख्याको हिसाबले सबैभन्दा ठूलो दल मानिएको नेपाली कांग्रेसको माहोल त्यति राम्रो छैन । त्यसका पछाडि थुप्रै कारण हुन सक्छन् ।  सत्ता साझेदार दल भएर पनि उल्लेख्य काम गर्न नसक्नु लगायतको विषय छँदैछ । त्यसमध्ये एउटा प्रमुख कारण पार्टी आफ्नो नीतिअनुसार चलेन भन्ने नै हो । 

राजनीतिक दलको आफ्नो नीति र विचार हुन्छ । त्यही विचारले दल चल्ने हो । विचारकै पछि लागेर नेता, कार्यकर्ता र शुभेच्छुक बढ्दै जाने हुन्। जुन दलको विचार छैन, जुन दलको खास नीति छैन र केवल सत्ताका लागिमात्र हानथाप गरिरहेको छ भने त्यस्तो दलको भविष्य पनि हुन्न। त्यसैले विचार अपरिहार्य छ।  

२१ औँ शताब्दीका मतदाता र शुभेच्छुक निकै नै बुद्धिमानी भइसकेका छन् । अहिलेका मतदाता अगाडि घाँसको हाँगा देखाएर बाख्रो त्यही लोभमा लामो यात्रामा बिना खाना घाँसको तिर्सनामा बाध्य भएर अगाडि बढेजस्ता अवश्य हैनन् । कारण हो अहिलेका मतदाता र शुभेच्छुकले पढेका छन्, बुझेका छन् र कसैले अनुभवका धेरै जुत्ता र भोटा फटालिसकेका छन्।

कांग्रेसको नीति महाधिवेशनको झल्को पाएको महासमिति बैठक बिहीबार सकिँदैछ । चार दिने महासमिति बैठक सकिँदै गर्दा कम्तीमा पार्टी जीवित छ है भन्ने सन्देश दिएको छ । 

त्यो सन्देश दुई विषयलाई जोडतोडका साथ उठाएर महामन्त्री थापाले नै दिएका हुन् भन्दा अत्युक्ति नहोला । ती दुई विषयमा पहिलो हो समयमै पार्टीको महाधिवेशन र दोस्रो हो निर्वाचनअघिको गठबन्धन नगर्ने प्रतिबद्धता । 

थुप्रै बुँदामध्ये यी दुई बुँदा कांग्रेसलाई मात्र होइन सबै दललाई जीवित राख्ने र लोकतन्त्रलाई न्याय गर्ने प्रमुख बुँदा हुन् । 

अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलको बहुमत नआएका खण्डमा सत्ता सञ्चालनका लागि मतपरिणाम आइसकेपछि गठबन्धन हुन सक्छ । त्यो स्वभाविक हो । किनकि मुलुकलाई अनिर्णयको बन्दी बनाउने अधिकार सकैलाई छैन । र निकासका लागि त्यो अवस्थाको गठबन्धनलाई स्वभाविक मान्न सकिन्छ । 

तर विचारै नमिल्ने दलहरुसँग चुनावी गठबन्धन गर्नु भने सरासर धोका हो । चुनावी गठबन्धन नै गर्नुछ भने विचार मिल्नेहरुबीच पार्टी एकता हुन सक्छ । विचारको कतै साइनो नलाग्ने दलहरु स्वार्थका लागि चुनावअघि नै मिलिदिँदा भने त्यसको असर स्वयं पार्टीलाई पर्छ । 

यसको उदाहरणको रुपमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरुसँग चुनावी तालमेल गरेपछि भोगेको परिणाम । त्यसकै प्रभावले कांग्रेस पहिलो दल त बन्यो । तर ख्याल गर्नुपर्ने विषय कहाँ छ भने समानुपातिकमा कांग्रेसको मत किन बढ्न सकेन ?

यसको उत्तर सहज छ । जसरी प्रत्यक्षमा भागबण्डा हुँदा अन्य दललाई मतदाताले मत हाल्न पुगे त्यसरी नै समानुपातिकमा उनीहरुलाई कांग्रेसलाई मत हाल्न मन नलागेको हुन सक्छ । त्यो अन्य दलमा पनि भएको हुन सक्छ । अहिलेको विषय कांग्रेसको भएकाले यतामात्र जोड दिइएको हो । 

कोही बिना स्वार्थ किन पार्टीको समर्थक बन्छ ? पार्टीलाई मत हाल्ने सबै स्वार्थी हुँदैनन् । उनीहरुलाई कहीँ न कहीँ विश्वास हुन्छ कि यो पार्टीलाई मत दियो भने यसले राम्रो गर्ला । भ्रष्टाचार नहोला । सुशासन कायम होला । 

२०४८ सालदेखि २०७९ सालसम्मका जति पनि पार्टी सत्तामा गएका छन् के सबैले राम्रो गरेका छन् त रु अवश्य छैनन् । कम्तीमा खराब भरिमा पनि कम खराब को छ भनेर मूल्याङ्कन त मतदाताले गर्छन् नै । अर्कातर्फ कुनै भरोसाको नेता देखे भने स्वभावतः उसलाई आत्मादेखि नै चाहेर मत राखेका हुन्छन् । 

नेपालको निर्वाचन प्रणालीअनुसार व्यक्तिभन्दा पार्टी बलियो हुनु जरुरी छ । तसर्थ एक दुई जना नेता भन्दा सिंगो पार्टीलाई चलायमान र भरोसायोग्य बनाउनु अहिलेको आवश्यकता हो ।

त्यही आवश्यकतालाई परिपूर्ति गर्नका लागि यतिबेला कांग्रेस महामन्त्री थापाले त्यो सूत्र ल्याएका छन् । उनका तिनै प्रस्तावलाई महासमिति सदस्यहरुले रुचाएका छन् । 

संस्थापन पक्षका महासमिति सदस्यहरुले पनि थापाको यो प्रस्ताव रुचाएका छन् । यसको प्रमुख कारण नै पार्टीको अपनत्व हो । पार्टी रहे नेता रहन्छ । जब पार्टी नै धरापमा छ भने गठबन्धनको आडले कहिलेसम्म धान्न सकिन्छ रु बिना विचारको गठबन्धन जतिबेला पनि ढल्न सक्छ । 

दलहरुबीच आपसी प्रतिस्पर्धा भयो भने उनीहरुमा कामको पनि सन्तुलन हुन्छ । प्रतिपक्षको डरले पनि ‘चेक एन्ड ब्यालेन्स’ हुन्छ । यदि दलहरु आपसमै मिलेर बाँडिचुँडी सत्ताको प्रयोग गर्ने हो भने त्यहाँ तानाशाह तन्त्रको उत्पत्ति हुन सक्छ । 

चाहे त्यो एमाले र माओवादी मिल्दाखेरि भएको अहिलेसम्मकै सबैभन्दा भ्रष्ट सरकार (ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनअनुसार) होस् वा गठबन्धनका धेरै दलहरु मिलेर बनेको सरकार किन नहोस् । भारी बहुमत भयो भने सरकार ढल्ने सम्भावना नहुँदा उनीहरु उन्मत्त भएर गर्न हुने नहुने सबै काम गर्छन् । 

यी समस्याबाट मुक्त हुनका लागि थापाले ल्याएको प्रस्तावले पक्कै तरंगित गरेको छ । यो गठबन्धनको विषयमात्र होइन पार्टीलाई रफ्तारमा समयअनुसार अगाडि बढाउन समयमै महाधिवेशन हुनु पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । 

पार्टीको स्थानीय तहको पहिलो चरणको कार्यकर्तादेखि पार्टीको केन्द्रीय सभापतिसम्मका आ–आफ्ना गति हुन्छन् । हरेक कार्यकालमा एक कदम अगाडि जान खोज्नु सबैको चाहना हुन जान्छ । 

अब सोचौँ । जो पदमा छन् कहिले पनि छोड्न चाहेनन् र पुनः उही पदमा रोकिए भने नयाँ अवसर वा नयाँ पुस्ता कसैले पनि स्थान पाउँदैनन्। त्यसले समग्र बौद्धिक विकास रोकिन्छ। दोहोरिनेले पहिलेको तुलनामा कम काम गर्छ जसको फलस्वरुपः सिंगो असर पार्टीलाई पर्न जान्छ । 

यही अर्थमा महामन्त्री थापाले समयमै महाधिवेशन गर्न जोड दिएका छन् । यहाँ एक जना नेताकोमात्र हैन सिंगो पार्टीको भविष्य जोडिएको हुन्छ । अवसर नदिएर पार्टी छोड्न बाध्य पारिएका उदाहरण प्रशस्तै भेट्न सकिन्छ ।

यी सबै कुरालाई मध्यनजर गर्दै महामन्त्री थापाले यसपालि ल्याएको प्रतिवेदनले धेरैको मन जितेको अनुभूति महासमिति बैठकस्थल पुग्ने जोकोहीले गर्न सक्छन् । कसैले मुखैले व्यक्त गर्छन् कसैले भावले । जतिबेला पनि आफ्नो नेतालाई कसैले गुटको नजरले हेर्न सक्दैन । किनकि हरेक नेता पार्टीका सम्पत्ति हुन्। 

यद्यपि कोही गुटबन्दीमा रमाउने बानी परेका, कोही अर्को गुटमा भएका कारण समर्थन गरे पनि आफू त्यो क्याम्पभित्र परिने होइन क्यारे भन्ने मनस्थिति बनाएकाहरुको भने कमी छैन । यो सबै व्यक्तिगत स्वार्थले निम्तिएको उपजमात्र हो ।

र पनि पार्टीलाई दीर्घकालीन बनाएर समयसँगै चलायमान बनाउन कार्यकर्ताको भावनाको कदर भने गर्नैपर्छ । सोही अुनसार नेता थापाले उठाएको विषयले उनको कद त उँचो भएको छ नै कांग्रेसलेसमेत समय सान्दर्भिक लय समातिरहेको छ भन्ने अनुभूति दिलाउँछ । 

केही बुँदाहरु केलाउँदा –

–ध्येयमा प्रष्टतालाई केलाउने हो भने यसमा समुन्नत नेपाल निर्माणको स्पष्ट भिजन रहेको छ। यसमै देश, जनता र पार्टीको भविष्य अन्तर्निहित रहेको छ ।

–जिम्मेवारी र जवाफदेहितामा जाने हो भने पार्टीका हरेक सदस्यलाई स्पष्ट कार्य विभाजन र जिम्मेदारी अहिलेसम्म तोकिएको छैन । अबदेखि तोक्ने हो भने यसले पार्टीलाई नयाँ जीवन दिन्छ। पार्टीका हरेक सदस्यलाई जिम्मेवार बनाउँछ । 

–सांगठनिक कार्यतालिका हेर्ने हो भने हालसम्म सांगठनिक कार्यतालिका र क्यालेन्डरको अभ्यास नै भएको थिएन र थापा महामन्त्री भएपछि बल्ल यो अभ्यासको थालनी भएको हो । यसले संगठनलाई गतिशील बनाएको छ । कार्यकर्तालाई ऊर्जाशील बनाएको छ र नेताहरुलाई जनता र कार्यकर्ताप्रति उत्तरदायी बनाएको छ । 

–नेपाली जनसम्पर्क समिति हेर्ने हो भने विदेशमा संगठन विस्तारको ठोस कार्यक्रम ल्याउनै पर्छ । 

–समावेशीताको विषयलाई हेर्ने हो भने संविधानको मर्म र पार्टीको विधानुअनुसार समावेशीकरणको ठोस कार्यक्रम हुनुपर्छ । 

–डिजिटल कांग्रेसको विषयलाई हेर्ने हो भने युवा र प्रविधिमैत्री कार्यक्रमले नयाँ र युवा पुस्तालाई पार्टीसँग जोड्न प्रभावकारी भूमिका निर्वाह गर्नेमा शंका छैन । 

–पार्टी र सरकारको विषयलाई हेर्ने हो भने पार्टी र सरकार तथा सबै तहका जनप्रतिनिधिबीच समन्वय, संवाद र सहजीकरणका लागि संयन्त्र बनाउने प्रस्तावले प्रभावकारी रुपमा कार्यसञ्चालन गर्न सफल भइने छ । 

–पार्टी योद्धा सम्मान र सहयोगले पार्टीमा संघर्ष गरेका संघर्षशील, शहीद परिवार, विस्थापित, द्धन्द्ध पीडित, प्रजातन्त्र सेनानी, घाइते तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गरेका परिवारलाई सम्मान र सहयोग गर्ने नयाँ अभ्यास र संस्कारको प्रारम्भ हुनेछ । 

–संगठन परिचालन तथा विस्तार विशेष अभियानले २०८१ साललाई संगठन विस्तार वर्ष घोषणा गरी पाँच लाख नयाँ सदस्य बनाउने विशेष अभियान बनाउन सकिन्छ । संगठन विस्तार गर्ने ठोस प्रस्ताव आउनु नै महत्वपूर्ण प्रस्ताव भएको छ । 

–युवासँग कांग्रेस प्रस्तावले युवालाई पार्टीमा आवद्ध गराई संगठन युवा र नयाँ पुस्तामा विस्तार गर्न मद्धत पुग्नेछ । हाम्राकुरा।

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्