४२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदै

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

बाँके  ।   ४२ हजार बालबालिकालाई नेपालगन्जमा   दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ ।

फाल्गुन १३ देखि १९ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका ९ महिनादेखि १५ वर्ष मुनीका ४२ हजार २ सय ७० बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

'प्रत्येक वडाका कम्तीमा तीन वटा सामुदायिक विद्यालयलाई खोप केन्द्र तोकेर खोप लगाउँदैछौं,' स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भने-'दादुरा खोप लगाउन प्रत्येक घरमा हामीले निमन्त्रणा कार्ड पनि पठाउँदैछौं ।' खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । चन्दले नेपालगन्ज उपमहानगरपालिकामा ८० प्रतिशत खोप कभरेज भएपनि वडागत रुपमा एकरुपता नरहेको बताए ।

गत वर्षको मंसिर ३ गतेदेखि पुस १५ गतेसम्म नेपालगन्जमा दादुराको महामारी फैलिएको थियो। त्यसक्रममा २१४ जना दादुरा संक्रमित बालबालिका फेला परेका थिए । एक जना बालकको ज्यानै गएको थियो । महामारी फैलिनासाथ सुरु गरिएको खोप अभियानमा सतप्रतिशत बालबालिकाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख कमरुद्दिन राईले दादुरा-रुबेला खोप अभियानलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जिल्लामा दादुरा-रुबेला विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग र हातेमालो आवश्यक रहेको बताए । पालिका स्तरीय वैठकमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायत उपस्थित थिए । 

नेपाल सरकारले सन् २०२६ सम्म दादुरा(रुबेला निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सन् २०२३ मा निवारण गर्ने लक्ष्य लिइएकोमा केही जिल्लाहरुमा महामारीकै रुपमा दादुरा देखिएपछि सन् २०२६ लाई नयाँ लक्ष्य तोकिएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा ४ प्रतिशतले खोपै लगाएका छैनन् भने १६ प्रतिशतले आंशिक खोप मात्र लगाएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्