नेपालगन्ज न्यूरो अस्पतालले दियो राप्तीसोनारीको लौकीमा नि:शुल्क स्वास्थ्य परामर्श सेवा

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज। बाँकेको राप्तीसोनारी गाउँपालिकाको लौकीमा विद्यार्थी तथा अभिभावकहरुलाई स्वास्थ्य सम्वन्धी सचेतना फैलाउने काम गरिएको छ ।

राप्तीसोनारी- १ लौकीको सिद्देश्वर महादेव माध्यामिक बिद्यालयमा केही दिन अघिदेखि त्यहा अध्ययनरत छात्रामा चिच्याउने,  बर्बराउने, अर्धअचेत हुने लगायतका लक्षणहरु देखिएको पाइएपछि  नेपालगन्ज न्यूरो ट्रमा एण्ड  मल्टिस्पेस्यालिटी हस्पिटलको चिकित्सक टोलीले विद्यालयमा पुगेर विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उक्त रोगबारे सचेतना फैलाउने काम गरेको हो ।

आज अस्पतालका वरिष्ठ  न्यूरो सर्जन डा.जोशन न्यौपानेले एक किसिमको मानसिक रोगका कारण यस्तो समस्या निम्तिने गरेको बताए । अत्याधिक तनावको कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिन सक्ने भन्दै उहाँले यो विस्तारै आफै ठिक भएर जाने रोग भएकाले तनाव व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका थिए ।

मानसिक तनावलाई व्यक्त गर्न वा समस्या समाधान गर्न नसक्दा छात्राहरुमा लक्षणको रुपमा कराउने बेहोस हुने, रुने चिच्याउने गर्छन उनले भने- 'कन्भर्सन डिसअर्डरको मुख्य कारण तनाव हो ।' उनले गाउँघरमा यस्ता खाले समस्या देखिए धामी झाक्री कहाँ पुग्ने गरेको पाइएको भन्दै समस्याको पहिचान गरेर उपचारतर्फ ध्यान दिन सुझाव दिए ।

यस्तो समस्या देखिएपछि बालबालिकाहरुलाई तनाव व्यवस्थापनतर्फ अभिभावक तथा शिक्षकहरुले ध्यान दिनुपर्ने सुझाव पनि न्यूरो सर्जन डा न्यौपानेले दिएका थिए। 

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बिधालयमै आएर बिद्यार्थीको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै परामर्श सेवा प्रदान गरेकोमा चिकित्सक टोलीलाई धन्यवाद दिएका थिए । उनले पालिकाले स्वास्थ्य सेवामा सबैको पहुँच हुने गरी काम गरिरहेको बताए ।

अध्यक्ष पौडेलले न्यूरो अस्पतालसंग स्वास्थ्यका क्षेत्रमा संस्थागत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पुगेर नि:शुल्क रुपमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परामर्श सेवा दिएको नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलका फार्मेसी इन्चार्ज दिनेश विष्टले बताए।

वडा अध्यक्ष यमबहादुर खड्का, प्रधानाध्यापक आदित्य जिसी लगायतले विशेषज्ञ चिकित्सकसहितको टोली विद्यालयमै आएर विद्यार्थीको स्वास्थ्य अवस्थासँगै विद्यार्थी, अभिभावक, शिक्षकलाई रोगबारे सचेतना फैलाउने काम गरेको भन्दै धन्यवाद दिए । गत शुक्रबार कक्षा ७ मा अध्ययनरत एक जना छात्रामा उक्त प्रकृतिको लक्षण देखिएको थियो ।

त्यसपछि आइतवार फेरी कक्षा ७ मा अध्ययनरत थप ३ जना र कक्षा १० मा अध्ययनरत एक जना छात्रामा उहीँ प्रकृतिको लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक आदित्य जिसीले बताए । उक्त कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्थानीयबासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्