एसपी थापाको १३ महिने कार्यकालमा रुपन्देहीबाट झण्डै पौने ९ करोडको अवैध सामाग्री बरामद

बुधबार, फागुन ९, २०८०

काठमाडौं  । अवैध तस्करी नियन्त्रण तथा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीले १३ महिनाको अवधिमा झण्डै पौने ९ करोड रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

गत १६ माघ २०७९ मा सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीको प्रमुख भएर गएका सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाको कमाण्डले गएकै दिनदेखि ८ फागुन २०८० सम्ममा ८ करोड ६१ लाख ४२ हजार ३८९ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

एसपी थापाको नेतृत्वको नं. २७ गण र जिल्लाभर रहेका मातहतका प्रस्तावित सीमा सुरक्षा गुल्म तथा बिओपी र बेसहरुले एसपी थापाको अवैध तस्करी नियन्त्रण गर्नुपर्ने निर्देशन अनुसार गरिएको कडाईले सशस्त्र प्रहरीले  नेपाल भारत खुल्ला सीमाका कारण हुने साना-ठुला भन्सार छलीका अवैध सामाग्री बरामद गर्न सफल बनेको हो।

रुपन्देहीबाट उक्त अवधिमा सशस्त्र प्रहरीले करोडौंको सुनसम्म बरामद गर्न सफल भएको थियो। सम्भावित भन्सार छली हुने स्थानमा आफै गस्तीमा खटिने एसपी थापाको कार्यकालमा रुपन्देही भन्सारबाट लाखौं अवैध भारु रुपैयाँसहित गाडी समेत बरामद भएको थियो। १३ महिनाको अवधिमा सशस्त्र प्रहरी बल नं. २७ गणले लत्ताकपडा , हार्डवेयर, खाधान्न , जुत्ताचप्पल,  चिनी , किराना सामाग्री , प्रतिवन्धित लागूऔषध, मोबाइल, इलेक्ट्रोनिक सामाग्री, नदीजन्य पदार्थ , पशुजन्य बस्तु लगायतका अन्य सामाग्री बरामद गरेको हो।

उक्त समयमा बरामद गरिएका अवैध बस्तु , सुन , नदीजन्य पदार्थ लगायत अन्य अवैध सामाग्रीलाई रुपन्देही सशस्त्र प्रहरीले सम्बन्धित कार्यालयमा बुझाएर करोडौंको राजस्व सरकारका नाममा गर्न सफल बनेको छ।

सरुवा भएर सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभागमा आज मात्रै रमाना लिएर गएका एक अब्बल प्रहरी अधिकृत एसपी थापाले आफ्नो कार्यकालमा अपराध नियन्त्रण तथा अवैध तस्करीविरुद्द छिमेकी देश भारतका सुरक्षा निकायसंग  समन्वय गर्दै दुवै तर्फका सुरक्षा निकायलाई संयुक्त गस्ती गर्न समेत पहल गरेका थिए।

उनको १३ महिने कार्यकालमा सशस्त्र प्रहरीले गरेको सीमामा कडा निगरानीले त्यहाबाट हुने सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएका थिए।

एसपी थापाको कमाण्डको सशस्त्र प्रहरीले सीमापारीबाट रुपन्देहीमा हुने अवैध तस्करीका सामाग्री धमाधम बरामद गर्दै कडाई गरेपछि र रुपन्देही भन्सारले देशमै पहिलो पटक  सय रुपैयाँमाथिका सामाग्रीमा भन्सार लगाउन सुरु गरेपछि  यतिबेला कपिलवस्तुका व्यापारीहरुलाई धेरै राहत मिल्दै आएको छ। 

 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्