ठगी प्रकरणमा धरौटी बुझाएर छुटेका वडाध्यक्ष पुनः ठगीको आरोपमा पक्राउ

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

पोखरा । अदालतबाट ८ लाख धरौटी रकम बुझाएर बाहिर निस्किने बित्तिकै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी पुन: ठगीको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुवेदीलाई ठगी आरोपमा मंगलबार आज साँझ पक्राउ गरेको हो।

झुक्याएर एक महिलाको २ करोड बराबरको घर खाइदिएको आरोप उनीमाथि छ । आफू ठगीमा परेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष सुवेदी पोखरास्थित मित्रमिलन सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार साँझ  जिल्ला अदालतमा ८ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सहकारी ठगी प्रकरणमा गत मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका सुवेदी मंगलबार आफै अदालतमा उपस्थित भएका थिए। सुवेदीलाई अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

अदालतले मागेजति धरौटी बुझाएर बाहिर निस्किने बित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको हो ।सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनलाई आजै अदालत पेस गर्ने तयारी भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्