कांग्रेसले चुनावमा गठबन्धन नगर्ने गगनको संकल्प पूरा

मंगलबार, फागुन ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं। काँग्रेसका मतदाताले रूख चिन्ह मै मतदान गर्न पाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको सङ्कल्पले अन्तिम रूप पाउने निश्चित भएको छ। नेपाली कांग्रेसको महामन्त्री हुनु अघिदेखि थापाले सार्वजनिक रूपमा कांग्रेसले एक्लै चुनाव लड्ने बताउँदै आएका थिए। 

तर सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेका र कांग्रेसमा सभापतिको बहुमत रहेकाले थापाको एक्लै निर्वाचनमा जाने सङ्कल्प पूरा हुन सकेको थिएन । ललितपुरमा जारी महासमिति बैठकमा साङ्गठनिक प्रस्ताव लैजाँदै महामन्त्री थापाले आफ्नो सङ्कल्प उक्त प्रस्तावमा हाले र कांग्रेसभित्र हलचल मच्चियो। विशेषगरी संस्थापन पक्षमा। 

सभापति देउवाले महामन्त्री थापासँग एक्लै बैठक गरे तर सहमति जुट्न सकेन । उक्त बैठकमा महामन्त्री थापा पछि नहट्ने सङ्केत देउवाले पाएपछि पदाधिकारी बैठकमा सभापतिले महामन्त्रीको प्रस्ताव मान्न तयार भएको घोषणा गरे। यसरी महामन्त्री थापाले कांग्रेसका कार्यकर्ता, शुभचिन्तक एवं मतदातालाई गरेको वाचा पुरा गरेका छन्। उक्त वाचा पुरा गर्न उनले गरेको सङ्घर्ष सम्झना लायक हुने छ। 

करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारी बसेर गगनको प्रस्तावमा छलफल गरेका थिए। पक्ष-विपक्षमा जमेर बहस भएपछि सभापति गगनको प्रस्ताव र तर्कमा सहमत भएको बैठकमा उपस्थित एक सदस्यले जानकारी दिए।  धेरै नेताहरूले गठबन्धनबारे बोल्न हतार नगर्न भनेर महामन्त्री थापालाई सम्झाए, कतिपयले उनलाई समर्थन गरेका थिए। महामन्त्रीको तर्कलाई काट्न सक्नेगरी कसैले थप प्रस्ताव ल्याउन नसक्दा महामन्त्रीको प्रस्ताव अघि बढ्ने निश्चित भएको थियो। 

महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनबारे अहिले निर्णय गर्न नसकिने बताएका थिए । उनको सन्देश स्पष्ट थियो गठबन्धन निरन्तर रहन्छ तर महामन्त्री थापाको प्रस्तावमा भएको छलफल सुनेपछि सभापति महामन्त्रीको प्रस्ताव स्वीकार्न तयार भएका थिए।महामन्त्री थापाले साङ्गठनिक प्रतिवेदनमा रहेको भविष्यमा हुने चुनावमा निर्वाचन पूर्व गठबन्धन नगर्ने सङ्कल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो ।

गठबन्धनका कारण पार्टीले ब्यहोर्नु परेको क्षति भन्दै थापाले आफ्नो तर्क प्रस्तुत गरेका थिए। उनले तथ्याङ्कसहित कहाँ-कसरी पार्टीलाई क्षति भएको पनि सविस्तार बताएका थिए । कति स्थानमा कांग्रेसका कार्यकर्तामा जोश नै नरहेको तीतो यथार्थ पनि उनले राखेका थिए । यसरी लामो रस्साकस्सीपछि थापाको प्रस्तावले आधिकारिकता पाएको हो । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्