गठबन्धन गर्ने नगर्ने तत्कालीन परिस्थितिमा भर पर्छ: सभापति देउवा

सोमबार, फागुन ७, २०८०
Neuro hospital Nepalgunj

ललितपुर । निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले   बताएका छन् । 

सोमबार ललितपुरको गोदावारी शुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए । उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे ।

“अहिले हामी गठबन्धनको अभ्यासमा छौं । गठबन्धन सरकार १० महिना अघि मात्र बनेको हैन । प्रतिनिधिसभा विघटन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,” उनले भने, “ वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस भएको सबै दस्ताबेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो ।”

सभापति देउवाले नेपाली कांग्रेसको विधानमा समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए । उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे ।

उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशिल दस्ताबेज भएको र यसमाथि जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उल्लेख गरे । 

उनले जनताको आशा भरोसा स्थापित गर्न संविधान कार्यान्वयनमा देखिएको अस्पष्टता जटिलता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा राखे ।

कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाई छ ।

“अहिले पार्टी ठुलो बनेको छ । सङ्गठन बलियो छ। जनताको आशा भरोसा कांग्रेसप्रति छ । कांग्रेसले विश्वासलाई खण्डित हुन दिनु हुँदैन,” उनले भने ।

सभापति देउवाले पार्टीको १४ औँ महाधिवेशनले नेतृत्व मात्र चयन गरेको समय अभावका कारण नीतिगत विषयमा दस्ताबेज राखेर छलफल गर्न नपाएकाले सोही उद्देश्यले महासमितिको बैठक बोलाइएको धारणा राखे ।

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्