मधेस सरकारका मुख्यमन्त्रीले तेस्रोपटक विश्वासको मत लिँदै

आइतबार, फागुन ६, २०८०
Neuro hospital Nepalgunj

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदैछन्। मधेस प्रदेश सरकारका मुख्यमन्त्री यादवले सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । 

यसका लागि आज दिउँसो  २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए । 

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।

मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ। 

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द् को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए ।

मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा (एस) रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ । सबैको समर्थन भएमा पुनः यादवले मुख्यमन्त्रीमा विश्वासको मत पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्