प्रधानमन्त्रीको आज सांसदहरुसँग प्रश्नोत्तर

आइतबार, फागुन ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । संघीय संसदतर्फको आज दुवै सनदको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सांसदहरूसँग प्रश्नोत्तर हुने कार्यसूची छ। आज प्रधानमन्त्रीले सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् । 

साथै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् । 

राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक सम्बन्धी प्रतिवेदन, २०८० पेश गर्नेछन् ।आज प्रतिनिधि सभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रश्तवालाई निर्माणार्थ प्रस्तुत गरिनेछ । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेश, २०८० लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्रीले नै बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहको ब्यहोरा जानकारी गराउनेछन् । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले “प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९-८० सभा समक्ष पेस गर्नेछन्। 

राष्ट्रिय सरोकार तथा समन्वय समितिका माननीय सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् । 

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन सम्बन्धी विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्