सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ। नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप भएपछिको घटनाका कारण कर्फ्यू लगाइएको हो।
बिहीबार ईशनाथ ५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउँ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको र अन्यलाई चोटपटक लागेको थियो ।
घटनापछि प्रशासन र दुवै समुदायका अगुवाबीच सहमति भए पनि शनिबार पुनः झडप भएको छ। झडपमा परेर घिउराका २३ वर्षीय भोला ठाकुर घाइते भएको स्थानीयले बताए ।
पहिलो दिन सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरूमाथि एक्कासी ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको स्थानीय बाबुलाल साहले बताएका छन् ।
स्थिति नियन्त्रणमा लिन सो स्थानको पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।