अमेरिका लैजाने नाममा काठमाडौंमा बन्धक बनाइएका ११ भारतीयको उद्दार, ९ जना पक्राउ

बिहीबार, फागुन ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौं प्रहरीले भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा बन्धक बनाएको आरोपमा ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ८ जना भारतीय नागरिक र एक जना नेपालीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरुले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि प्रहरीले उद्धार गरेको हो ।

भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको एक घरमा ल्याएर राखी उनीहरुको परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र नपठाएमा कुटपिट र यातना दिने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन् । नेपाली नागरिकको भने नाम खुलाइएको छैन । नेपाली नागरिकले भने उनीहरुलाई नक्कली कागजात बनाएर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार यो प्रकरणको मुख्य योजनाकार इन्दुसिंह यादव हुन् ।

उनीहरुले मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरु देखाएर बन्धक बनाइएकाहरुलाई परिवारबाट थप पैसा मगाउन लगाएको पाइएको प्रहरीको भनाइ छ ।अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनहरुले घरबाट पैसा मगाउन लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं प्रहरीले पक्राउ परेकाहरुविरुद्द मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दा प्रक्रिया अनुसार अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्