दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुला सार्ने निर्णय

शुक्रबार, माघ २६, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय  चिराघाटबाट जुम्लेकुलामा सार्ने निर्णय भएको छ ।

१५औं गाउँसभा बैठकले गाउँपालिकाको केन्द्र हाल कायम रहेको वडा नं.३ को चिराघाटबाट वडा नं. ४ को जुम्लेकुला (खैरेनी जाने सडक छेउमा) सार्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार गाउँसभामा ३७ सदस्य मध्य वडा नं. ३ का वडाध्यक्ष मिनबहादुर केसीले मात्रै हाल कायम रहेको स्थानबाट पालिकाको केन्द्र सार्न नहुने पक्षमा उभिएका थिए ।

अन्य जम्मैले पालिका जुम्लेकुला स्थान्तरण गर्नुपर्नेमा सहमति जनाएका थिए । चिराघाट भन्दा जुम्लेकुला झन्डै दुई किलोमिटर पश्चिममा पर्छ ।

जुम्लेकुलाका कृष्ण केसी, पहलबहादुर डाँगीले आफ्नो निजी जग्गा समान ४ कठ्ठा र दुर्गा वली र निमबहादुर वलीले समान ३ कठ्ठा गरि कुल १३ कठ्ठा जग्गा शान्तिनगर गाउँपालिकाका लागि निशुल्क रुपमा उपलब्ध गराउने निर्णयपनि भइ सकेको पालिका अध्यक्ष बस्नेतले बताए ।

त्यसका साथै आसपासको थप सार्वजनिक जग्गासमेत आफ्नो स्वामित्वा ल्याइ झन्डै एक बिगाहा क्षेत्रफलमा शान्तिनगर गाउँपालिकाको कार्यालय स्थापना गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।

हालको चिराघाटमा रहेको पालिकाको कार्यालय खोँचमा छ । त्यहाँ फोनसम्पर्कपनि हुँदैन थियो। स्थानीयका अनुसार २०४६ सालमा बहुदल पुर्नःस्थापना पछि बसेको तत्कालिन गाउँ बिकास समिति बस्दै आएको ठाउँमा शान्तिनगर गाउँपालिकाको कार्यालय संचालन हुँदा सबैलाई पायक थिएन ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्