सुर्खेतरोडमा फुटपाथ बनाउँदै नेपालगन्ज उपमहानगरपालिका

बुधबार, माघ २४, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको शुभारम्भ गरेका छन् । राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताए । १ करोड लागतमा बन्न थालेको फुटपाथ चालू आर्थिक बर्षमा सुर्खेत रोडको पश्चिमतर्फ निर्माण गरिने दासले जानकारी दिए । जेठ मसान्तसम्म फुटपाथ निर्माण सम्पन्न हुनेछ ।

यस्तै वीपी चोकदेखि धम्बोझी चोकसम्म मिडियन रेलिङ कार्य सुरु गरिएको छ । नगर प्रमुख विष्टले मिडियन निर्माण कार्यको अनुगमन गरेका छन् । नगर सौन्दर्यकरण, हरियाली प्रवर्द्धन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकको बीच भागमा बृक्षारोपण र रेलिङ निर्माण कार्य सुरु गरिएको नगर प्रमुख विष्टले बताए । ४० लाख लागतमा यसै आर्थिक बर्षभित्र निर्माण कार्य सक्ने गरी नेपाल विल्डर्सले काम थालेको योजना तथा प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहोराले जानकारी दिए ।

उता नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ आलानगरमा सडक स्तरोन्नति र नाला निर्माण कार्य सुरु भएको छ । ३१० मिटर लामो र १० मिटर चौडा सडक स्तरोन्नति तथा ७२।५ सेन्टिमिटर चौडा नाला निर्माण कार्यको नगर प्रमुख विष्टले शिलान्यास गरेका छन् ।

आलानगरदेखि फारम टोल जोड्ने उक्त बाटो ग्राभेल र दुईतर्फी नाला आरसीसी ढलान गरिने इन्जिनियर इश्वरी सापकोटाले बताइन् । विशाल निर्माण सेवाले जेठ १५ गतेसम्म ७० लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी काम थालेको छ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्