८ एसपी बढुवाका लागि १२ डीएसपी होडमा, जिल्ला हाक्न खोजेका एसपीहरु शक्तिकेन्द्र धाउदै

मंगलबार, माघ २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर एसपीको सरुवा गर्न पटक–पटक गृह मन्त्रालयमा पुगिसकेका छन् । आईजीपी गृह मन्त्रालय दैनिक जाने भए पनि एसपी सरुवाको विषय भने पटक–पटक पुगिसक्दा पनि गृहले सहमति दिन नचाहँदा रोकिएको छ ।

‘गृहमन्त्रीज्यूले अहिले पर्खनुस् भन्नु भएको छ भन्दै फकाइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई तथा आइजीपी बसन्त कुँवर र एआईजी टेकप्रसाद राईबीच बढुवा र सरुवाको विषयमा छलफल हुँदा टुंगिन नसकेको स्रोतको दाबी छ । 

नेपाल प्रहरीले डीएसपीबाट एसपी बढुवा र एसपीको सरुवा एकैपटक गर्न लागेको भए पनि यी दुई पदमा गृहको अवरोध देखिएको छ । एक वर्षमा इन्चार्ज खाली हुने जिल्लाको एसपी सरुवा र डीएसपी बढुवा एकै पटक हुने गरी तयारी थालेको थियो । 

प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपी बढुवा गर्न डेढ महिनाअघि नै कसरत गरेको भए पनि मन्त्रालय बाधक बनेपछि रोकिएको छ । १७ भन्दा बढी जिल्लाका एसपीको कार्यकाल १ वर्ष पुगेकाले सरुवा हुन लागेको भए पनि गृह मन्त्रालयले कसलाई पठाउने भन्दै लेखाजोखा गर्न थालेको छ ।

धनकुटा, मोरङ, झापा, सिराहा, महोत्तरी, पर्सा, चितवन, सिन्धुपाल्चोक, धादिङ जिल्लाका एसपीको एक वर्ष अवधि पुगिसकेको छ । त्यस्तै, तनहुँ, रुपन्देही, बागलुङ, स्याङ्जा, पाल्पा, बर्दिया, कन्चनपुर, पश्चिम नवलपरासीका एसपीको पनि एक वर्ष पुगेको छ । पर्सामा यतिबेला कोमल शाह छन् । 

उनको स्थानमा काठमाडौँमा रहेका एसपी कुमोध ढुंगेललाई पठाउने तयारी भएको छ । यस्तै झापामा रहेका दुर्गा रेग्मीको काम चित्त नबुझेको भन्दै उनको स्थानमा ललितपुरबाट नवराज कार्की वा गौतम केसीमध्ये एकलाई पठाउने तयारी भएको भए पनि मिलन केसीलाई पठाउन गृहमन्त्रीलाई बढी नै दबाब रहेको छ । 

एआईजी सरुवामा यज्ञविनोद पोखरेललाई सबैभन्दा आकर्षक मधेस प्रदेशमा पठाउन सफल गृहमन्त्री श्रेष्ठकी स्वकीय सचिव सुशन कर्माचार्यले खाली हुने जिल्लामा कसलाई पठाउने भनेर लेखाजोखा गरिरहेको स्रोतको दाबी छ । 

रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, गौतम केसी, सन्तोष खड्का, रमेश पण्डितको प्रतिस्पर्धा रहेको छ । पण्डितले शक्तिकेन्द्रबाट दबाब दिए पनि केही महिनाअघि मात्र नुवाकोटको इन्चार्जबाट सरुवा भएकाले उनको सम्भावना निकै कम छ । 

ज्ञवाली भने शक्ति केन्द्र धाइरहेका छन् । विवादित छविका ज्ञवाली सबैका प्रिय पात्र हुन् । एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसी सकेसम्म झापा नभए रुपन्देहीलाई टार्गेट गरिरहेका छन् ।

उता बसुन्धरा खड्का पनि आफ्नो पहुँच विस्तारमा लागेकी छिन् । चितवनका लागि शालिग्राम शर्मा पौडेल र भावेश रिमालले आ–आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । 

पौडेलले चितवनको डीएसपीको रुपमा काम गरिसकेका छन् । मोरङमा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी हुने दाउमा छन्। 

नेपाली कांंग्रेसका नेता डा शेखर कोइरालालाई भनसुन गरी मोरङमा एसपी भएका र बीचमै तानिएका शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन दौडधुप गरिरहेका छन् । 

यसैगरी आठ डीएसपीबाट एसपी बढुवामा पनि गृहकै अवरोध रहेको छ । प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, कुलदिप चन्द, नारायण रन्जितकार , निरन्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे (क) पनि बढुवाका प्रतिस्पर्धी छन् । 

सिट संख्या भने आठमात्र रहेको छ । उनीहरुको बढुवा पनि गृहले अड्काएका कारण वृत्ति विकासमा असर पर्न थालेको छ । 

अहिले आठ एसपीको सिट खाली रहेको तर १२ जना प्रतिस्पर्धी भएपछि प्रहरी प्रधान कार्यालयले मेरिटमा भएकालाई बढुवा गर्न खोजे पनि गृहले रोकेको छ । हाम्राकुरा।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्