'जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन सरकार ढाल्ने पक्षमा एमाले छैन': ओली

मंगलबार, माघ २३, २०८०
Neuro hospital Nepalgunj

महोत्तरी । नेकपा एमालेले यो सरकार ढाल्ने खेलमा नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए। अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रूपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सङ्केत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरूसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे । 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताए । उनले भने, ‘यो निकम्मा गठबन्धन, भ्रष्ट गठबन्धन, तस्करी चलाएको छ । रोक्न सकेको छैन । यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरू, मित्रहरूसँग भेट्दा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहुँर्‍याएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन । यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिसन २०८४ भनेका छौं । दिगो ढङ्गले हामी राजनीति गर्न चाहान्छौँ । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौँ । हाम्रो नीति त्यो छ । यो कुनै विचार मिलेको गठबन्धन हो र । यो स्वार्थहरू जोडेर बनाएको गठबन्धन । आफैँ स्वार्थ टकराएर झिल्का निक्लिरहेको छ । त्यसकारण यस्तो सरकार कति दिन्छ चल्छ रु जति दिन चल्छ, देशलाई दुःख दिन्छ ।’

एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको अध्यक्ष ओलीले दावी समेत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्