सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
घोराही (दाङ ) । दाङको घोराहीमा नेपाल प्रहरीका जवान आफ्नै श्रीमती र छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन ।
दाङ प्रहरीमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दाङ प्रहरीका अनुसार जवान नेपाली नेपालगन्जबाट श्रीमती आएकाले गएराति कार्यालयबाट बिदा लिएर घोराहीस्थित सुपरलज होटलको कोठा नं.१ मा बास बसेका थिए । तर आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जवान नेपालीले श्रीमती र छोराको हत्या गरेर आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। रुन्टीगढी गाउँपालिका–९, रोल्पा घर भएका जवान नेपाली लामो समय नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । नेपालीको दुई महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।