बाँकेको जानकीमा अनुगमनको फाइलमा उपाध्यक्षकै किर्ते हस्ताक्षर...

शनिबार, असार ३०, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको एक गाउँपालिकामा योजनाको अनुगमनमा उपाध्यक्षको किर्ते हस्ताक्षर गरेको पाइएको छ।

जिल्लाको जानकी गाउँपालिकामा रकम निकासा अघिको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष रामप्यारी यादवको हस्ताक्षर किर्ते गरिएको पाइएको हो।

गाउँपालिका भवनको मुख्य प्रवेशद्वार निर्माणको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष यादवको किर्ते हस्ताक्षर गरिएको हो । प्रवेशद्वार निर्माण गरिसकेपछि भुक्तानी निकासा माग अघिको फाराममा उपाध्यक्षको किर्ते हस्ताक्षर गरेपछि रकम निकासा रोकिएको छ । आफ्नो हस्ताक्षर किर्ते गरेको थाहा पाएपछि उपाध्यक्ष यादव किर्ते हस्ताक्षर गर्नेलाई कारबाही गराउन प्रहरी लगायत विभिन्न निकायमा धाइरहेकी छिन्  ।

किर्ते हस्ताक्षर गर्नेलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरीले निवेदन दर्ता नगरेको उपाध्यक्ष यादवले बताइन  । ‘मेरो फाइल दुई दिनसम्म प्रहरीकहाँ रह्यो, प्रहरीले दर्ता गरेन, उपाध्यक्ष यादवले भनिन् , प्रहरीले दर्ता नगरेपछि फाइल फिर्ता ल्याएको छु । अब अदालत जान्छु ।’

गाउँपालिकाले पत्रकार सम्मेलन गरेर उपाध्यक्षको हस्ताक्षर ठेकेदार कम्पनीका मानिसले किर्ते गरेको बताएको छ । गाउँपालिकाका अध्यक्ष छब्बल खाँले ठेकेदार कम्पनीका मानिसले उपाध्यक्षको हस्ताक्षर किर्ते गरेकाले कारबाहीका लागि आफूहरु लागिपरेको बताए ।

गत बैशाख १० गते प्रवेशद्वार बनाउने ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । सिंहका अनुसार असार १५ गते सम्पन्न गर्ने भनिएकोमा ८ गते नै सम्पन्न गरेर रकम माग गरिएको थियो । योजना तथा अनुगमन समितिको प्रतिवेदनमा अनुगमन समितिका संयोजक उपाध्यक्ष रामप्यारी यादव, पूर्वाधार संयोजक टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ति काँदु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय, योजना शाखा प्रमुख शोभा पौडेलको हस्ताक्षर छ ।

योजना अनुगमन समितिका संयोजक उपाध्यक्ष यादवकै हस्ताक्षर किर्ते गरिएपछि गाउँपालिकाले भुक्तानी रोकेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्