विमानस्थलमा कुटपिट घटना: अध्यागमन अधिकृतलाई विभागीय कारबाही र असईलाई निलम्बन

बिहीबार, माघ १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । गत शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन अधिकृत र प्रहरीबीच भएको कुटाकुट प्रकरणमा अधिकृत र प्रहरी सहायक निरीक्षक (असई) लाई कारबाही हुने भएको छ।

उक्त घटनामा प्रहरीबाट कुटिएका अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र  कुटपिटमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

विमानस्थलमा कर्मचारी र प्रहरीबीच कुटाकुट भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाउँदै त्यस्तो सिफारिस गरेको हो । त्यसैगरी प्रहरी जवानद्वय रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । 

गत शुक्रबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद हुँदा कुटाकुट भएको थियो । सो घटनालाई लिएर माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । 

गठित समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनअनुसार कुटपिटमा संलग्न अन्य दुई प्रहरीलाई भने विभागीय कारबाहीको सिफारिस गरिएको छ । छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए । 

उनीहरुले सो प्रतिवेदन बुधबार मन्त्रालयमा बुझाएका हुन् । कर्मचारी कुटपिटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर काम गरिरहेका थिए । 

कर्मचारीहरुले प्रहरीलाई कारबाही नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिको प्रतिवेदन आएपछि कानूनअनुसार कारबाही गर्ने बताएका थिए । 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्