आजदेखि कांग्रेस वडा संवादमा

बुधबार, माघ १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आजदेखि नेपाली कांग्रेसले वडा संवाद सुरु गरेको छ । "समुदायमा कांग्रेस" अभियान  अन्तर्गत सबै कांग्रेस नेताहरु वडा सम्वादमा जुटेको नेपाली कांग्रेसले जनाएको छ।

"समुदायमा कांग्रेस"  अभियान अन्तर्गत नेताहरु, केन्द्रीय प्रतिनिधिहरु जिल्ला जिल्लामा गएको र अहिले १० जिल्ला बाहेकका (हिमाली जिल्ला बाहेक) ६७ जिल्लामा पठाएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। 

जिल्लामा खटिएका प्रतिनिधिहरुले १३ देखि १५ गतेसम्म बैठक गरेर राखेको र त्यसको अभिमुखीकरण गरी वडा वडामा प्रतिनिधिहरु पठाइसकेको कांग्रेस महामन्त्री गगन कुमार थापाले बताए । 

कांग्रेसको कार्यतालिकाअनुसार शहीद दिवसको दिन १६ गते देशैभरका सबै वडाहरुमा पहिलो कार्यक्रम भएको छ । 

शहीद दिवसको दिन एउटा संकल्प गर्दै पार्टीको आन्तरिक भन्दा पनि सामाजिक कार्यक्रमहरु गर्ने भन्ने पार्टीको परिपत्र अनुसार सबैजसोले सामाजिक कार्य गरेको पनि महामन्त्री थापाले बताए । 

केही ठाउँमा भने कसैले १८ गते, कसैले २० गतेका लागि सामाजिक कामलाई सारेकोसमेत थापले जानकारी दिए । सो क्रममा उनी आफू मेची महाकाली यात्रालाई छोटो समयका लागि विश्राम दिएर वडाको कार्यक्रममा सहभागी हुन जनकपुरबाट काठमाडौँ आएका थिए । 

सो क्रममा देशभरका वडाहरुमा कतै सरसफाइ, कतै रक्तदान, कतै वृक्षरोपण लगायतका काम भएको छ । आजदेखि संवाद शुरु भएको र फरक ठाउँमा फरक किसिमको तर कार्यक्रमको सार एउटै भएकोसमेत कांग्रेसले बताएको छ । 

संवादका क्रममा नेताहरुले नागरिकसँग छलफल गर्ने, संवाद गर्ने र विभिन्न सेवा केन्द्रहरुमा पुगेर अवलोकन गर्नेसमेत महामन्त्री थापाले भने ।  संवाद अभियानमा नेताहरुले स्थानीयका गुनासा, सुझाव, समस्या, समाधानका उपाय, कांग्रेसप्रतिको धारणा, गर्नुपर्ने कामका प्राथमिकता लगायतका विविध विषयमा छलफल हुनेछ । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्