खोलाले पुल बगाएपछि ग्यास ढुवानी नहुदा स्थानीय मर्कामा

शनिबार, असार ३०, २०८०

ताप्लेजुङ । मनसुन सुरु भएपछि पाँचथरको हेवा खोलामा बाढीले  बेलिब्रिज बगाएपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । 

बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो । 

यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो । 

हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ । 

ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरु प्रभावित बनेका हुन् ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्