अफगानिस्तानविरुद्द सनसनीपूर्ण जित निकाल्दै नेपाल विश्वकपको सुपर सिक्समा

शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको सुपर सिक्समा  प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सनसनीपूर्ण १ विकेटको जित हासिल गर्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो। 

यसअघिका दुवै खेल गुमाएको नेपाललाई अर्को चरण प्रवेशका लागि अफगानिस्तानलाई जित्नैपर्ने थियो । 

उक्त गर या मरको ‘लो स्कोरिङ’ खेलमा नेपालले १४६ रनको चुनौती ४४.४ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो । बलरहरु हावी भएको पिचमा नेपालले सनसनीपूर्ण रोमाञ्चक जित हासिल गरेको हो । 

नेपालका लागि कप्तान देव खनालले कप्तानी इनिङ्स खेलेर जितको आधार तय गरेपछिमात्र आउट भए । उनले ८९ बलमा ७ चौकाको मद्धतले ५८ रन बनाए । त्यस्तै दिपक बोहराले ४२ बलमा २७ रन जोडे । 

खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा अफगानिस्तानलाई ४०.१ ओभरमा अलआउट गर्दै १४५ रनमा रोक्यो । 

अफगानिस्तानले ८८ रन जोड्दा ८ विकेट गुमाइसकेको भए पनि नवौँ विकेटको साझेदारी राम्रो भएको थियो । 

आठौँ नम्बरमा आएका एएम घजानफरले आक्रामक ब्याटिङ गर्ने क्रममा २१ बलमा ३७ रन बनाए । त्यस्तै कप्तान नसिम खानले ३१ रन बनाए भने फरिदुन दाउदजाईले २९ रन बनाए । 

त्यस्तै हसन ईसकिलले २० रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । पाँच ब्याटरले त रनको खातासमेत खोल्न सकेनन् । 

नेपाललाई सफलता दिलाउने क्रममा आकाश चन्द एक्लैले ५ विकेट लिए । उनको विश्वकपमा सबैभन्दा उत्कृष्ट बलिङ हो । 

त्यस्तै दिपेश कणेलले २ तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले १–१ विकेट लिए ।

समूह डीमा नेपालसँगै अफगानिस्तान, न्यूजिल्याण्ड र पाकिस्तान रहेकामा लगातार दुई जितसहित न्यूजिल्याण्ड र पाकिस्तान अर्को चरणमा पुग्दा नेपाल तेस्रो भएर अर्को चरणमा पुगेको हो । अफगानिस्तान भने सबै खेल हारेर बाहिरिएको छ । 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्