६ महिनाको अवधिमा सशस्त्रले लुम्बिनीबाट बरामद गर्यो १६ करोड बढीको भन्सार छलीका सामाग्री

शुक्रबार, माघ १२, २०८०

 

काठमाडौं । लुम्बिनी प्रदेशभरबाट सशस्त्र प्रहरी बलले १६   करोड बढीको अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यावासीनी बाहिनी चन्द्रौटा अन्तर्गत रहेका जिल्लास्थित गण र मातहतका कार्यालयले ६ महिनाको अवधिमा १६ करोड ९ लाख ९२ हजार ९७ करोड रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामाग्री बरामद गरेको छ।

गत साउन महिनादेखि पुस मसान्तसम्ममा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा सीमा सुरक्षा, शान्ति सुरक्षा कायममा मात्र अहोरात्र नखटिएर सीमा नाका हुँदै नेपाल ल्याइएका  ठुलो मात्रामा अवैध सामाग्री बरामद गरेर सशस्त्र प्रहरी बल लुम्बिनीले अब्बल कार्य गरेको छ।

लुम्बिनी प्रदेशभरका सीमासँग जोडिएका विन्ध्यवासिनी बाहिनी अन्तर्गत तैनाथ सशस्त्र प्रहरी कार्यालयहरु अन्तर्गत सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीका प्रमुख एसपी धिरेन्द्रराज न्यौपानेको कमान्ड रहेको जिल्लाभरबाट हुने अवैध गतिविधि र अवैध सामाग्री ओसारपसारविरुद्द गरेको कडाइले गत साउनदेखि पुस मसान्तसम्म   २ करोड ८ लाख ३२ हजार ३५१ रुपैयाँ  बराबरको अवैध सामाग्री बरामद गर्न सफल बनेको छ। मुख्य नाकाबाट नभई साना र चोर बाटो हुँदै भारतबाट भन्सार छलेर ल्याइएका स-साना देखि ठुलो मूल्यका अवैध सामाग्री बरामद गरेको पश्चिम नवलपरासी सशस्त्र प्रहरीले जिल्लाको शान्तिसुरक्षामा पनि अहम भुमिका खेल्दै आएको छ। केही दिनअघि मात्र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीले त्यहाको सशस्त्र प्रहरीको कार्यसम्पादनको उच्च मुल्यांकन गरिने बताएका थिए।

एसपी न्यौपानेले अवैध सामाग्री बरामद मात्रै नगरी विभिन्न प्रकारका सामाग्रीहरु मोटर पार्टस, भेली, फलफुल, खाद्यान्न लगायत लत्ताकपडा बोकेका १७ वटा सवारीसाधनहरु बिल बिजकमा गल्ती भेटिएकाले आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको विन्ध्यावासीनी बाहिनीले जनाएको छ। त्यसमध्ये १३ वटा सवारीसाधनहरुले १ करोड १५ लाख जरिवाना तिरेर धरौटीमा छाडिएका छन् भने अन्य ४ सवारीसाधनको अनुसन्धान प्रक्रिया भइरहेको छ।

त्यस्तै सशस्त्र प्रहरी बलकै अब्बल मानिने सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपक थापाको कमान्ड रहेको रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नम्बर २७ गणले ६ महिनाको अवधिमा झण्डै साढे ३ करोड रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको छ। क्षेत्रफलमा ठुलो रहेको रुपन्देही जिल्लामा सिमित श्रोत र साधनका बाबजुद सशस्त्र प्रहरीले यति धेरै मूल्यको अवैध सामाग्री बरामद गर्नु पक्कै पनि सुखद हो। 

रुपन्देहीबाट सशस्त्र प्रहरीले भन्सार छली लिएर आएका अवैध लत्ताकपडा कपडा , किराना , मोटर पार्टस, खाने सामाग्री , अवैध रुपैयाँ लगायतका अन्य सामाग्री गरि ३ करोड ३५ लाख ३२ हजार ८३५ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो। रुपन्देही सशस्त्र प्रहरीले  राजस्व अनुसन्धानमा पठाएका धेरै सवारीसाधनहरुको अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यहास्थित सशस्त्र प्रहरीले सीमापारीको सुनौली बजार जाने नेपालीहरुले ल्याउने सामाग्रीमा पनि भन्सार महशुल तिर्नुपर्छ भन्ने सन्देश दिदै आइरहेको छ।

सशस्त्र प्रहरी बलकै नम्बर २८ गण कपिलवस्तुस्थित सशस्त्र प्रहरी सक्रिय रुपमा लागेर अवैध तस्करीविरुद्द धावा बोल्दै  ६ महिनामा  झण्डै एक करोड रुपैयाँ   बराबरको अवैध सामाग्री बरामद गरेको छ। त्यहाको सशस्त्र प्रहरीले ९४ लाख ३१ हजार २७० रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो। 

कृष्णनगर मुख्य भन्सार रहेको उक्त जिल्लाबाट कमै मात्र अवैध सामाग्री भित्र्याइने भएपनि कपिलवस्तुस्थित सशस्त्र प्रहरीका एसपी जीवन केसीको साहासिक कार्यले तस्करहरुको मनोबल नै खस्किसकेको त्यहाका स्थानीय ब्यापारीहरु बताउँछन् । लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरीले सुरु गरेको सीमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको  कपिलवस्तुबाट सुरु भएको हो।

भारतसंग सीमा जोडिए पनि भौगोलिक विकटताले अति विकट मानिने दाङको दक्षिणी भेगबाट आक्कल झुक्कल ल्याइने अवैध सामाग्रीलाई समेत सशस्त्र प्रहरी बल नम्बर २९ गण भालुबाङले ६ महिनामा ४६ लाख  ९ हजार ४७३ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ। दाङमा एउटा प्रस्तावित सीमा सुरक्षा गुल्म छ। सशस्त्र प्रहरी बल नम्बर २९ गणमा गोपाल श्रेष्ठ प्रमुख हुन् ।

यसैगरी बाँकेबाट सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले गत साउनदेखि पुस मसान्तसम्म  लुम्बिनीमै सबैभन्दा बढीको  अवैध सामाग्री बरामद गर्न सफल भएको छ। बाँकेबाट सशस्त्र प्रहरीले गत साउनदेखि पुस मसान्तसम्ममा ७ करोड ५३ लाख ९४ हजार ९३१ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ। यो अनुपातमा त्यहाको सशस्त्र प्रहरी प्रति महिना १ करोड बढीको अवैध सामाग्री बरामद गर्न सफल बनेको छ। 

बाँकेमा सशस्त्र प्रहरीका प्रमुख रमेश बिक्रम शाहीको कडाइले अन्य नाकाबाट हुने अवैध तस्करीसमेत निर्मुल बन्दै गएको छ। 

यता जिल्ला ठुलो भएपनि एउटा मात्र छोटी भन्सार रहेको बर्दियामा सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले  ५६ लाख ९१ हजार २३७ रुपैयाँ    बराबरको अवैध सामाग्री बरामद गरेको छ। त्यति धेरै सामाग्री ओसारपसार नहुने बर्दियामा पनि सशस्त्र प्रहरीको अहोरात्र पहराले फाटफुटमा अवैध तस्करीका सामाग्री पनि सशस्त्र प्रहरीले बरामद गर्दै आएको छ। त्यहाँको सशस्त्र प्रहरी प्रमुखमा एसपी हर्क शाही छन् ।

सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई  सीमा नाकाबाट हुने मानव बेचविखन रोकथाम, लागूऔषध कारोबारविरुद्ध र अपराधलाई समेत नियन्त्रण गर्दै आएर जिल्लाहरुमा शान्ति सुरक्षा मा समेत उल्लेखनीय भुमिका खेल्दै आएको छ ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी मुख्यालय नम्बर ५ विन्ध्यावासीनी बाहिनीको प्रमुखको रुपमा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि खत्रीको अगुवाईमा सीमा सौन्दर्यकरणको काम समेत सुरु गरिएको छ । खत्रीको नेतृत्वमा बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकाबाट सौन्दर्यकरण कार्यको थालनी गर्दै सशस्त्र प्रहरी विन्ध्यावासीनी बाहिनीले जमुनाह सीमा नाकामा स्वच्छ र शुद्द खानेपानीको समेत व्यवस्था गरिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्