सुदूरपश्चिम प्रहरीको 'आरआइटी' टिम खारेज, २ जना प्रहरीमाथि अनुसन्धान हुँदै

आरआइटीका २ प्रहरीलाई रेष्टुरेन्ट मालिकमाथि आक्रमणको आरोप
शनिबार, असार ३०, २०८०
Neuro hospital Nepalgunj

धनगढी ।  कञ्चनपुरको बेलौरीस्थित रेस्टुरेन्ट सञ्चालकलाई प्रहरीको अनुसन्धान समूह(आरआइटी) मा  कार्यरत प्रहरीले आक्रमण गरेको जानकारी आएपछि नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश  आरआइटी खारेज गरिएको छ ।

सुदूरपश्चिमका  डीआईजी भरत बोहराले  बेलौरीमा होटल सञ्चालकमाथिको घटनाका कारण आरआइटी खारेज गरेका जनाएका छन् । अनुसन्धान समूह (आरआइटी) मै  कार्यरत दुई जना प्रहरीले होटेल सञ्चालकलाई नै  आक्रमण गरेको आरोपमा सबैको  दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेको डीआईजी बोहराले जानकारी दिएका छन् ।

आक्रमणको आरोप लागेका सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको र  आरआइटीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशी सहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाइसकेको डीआईजी बोहराले बताए।

कञ्चनपुरको बेलौरीस्थित फेमली रेष्टुरेन्टमा गएर रकम माग्दा नदिएपछी  सहायक हवलदार पाण्डे र प्रहरी जवान  भट्टले सञ्चालक सुरेशकुमार वडायकमाथि गए राति धारिलो वस्तुले प्रहार गरेका हुन् ।

डीआईजी बोहरालाई आक्रमण गरेको जानकारी दिएपछि आराइटीको औचित्य नभएको भन्दै सबैलाई आफ्नो दरवन्दीमा पठाउदै  सहायक हवलदार पाण्डे र प्रहरी जवान भट्टमाथि अनुसन्धान गर्न आदेश दिएका हुन् ।

प्रदेश प्रहरी कार्यालयले आरआइटी खारेज गर्दै अपराध, अनुसन्धान लगायतका काम सम्बन्धित ठाउँको स्थानीय प्रहरीलाई दिने व्यवस्था मिलाउने आदेश दिएको छ भने   अतिआवश्यक भएमा पुनः गठन गर्न सकिने जनाएको छ।

 

 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्