सकियो राष्ट्रिय सभा चुनावको मतदान, आजै परिणाम आउने

बिहीबार, माघ ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । राष्ट्रिय सभा चुनावको मतदान सकिएको छ।आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनको देशभर सकिएको छ। कानूनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गरे यस निर्वाचनमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भएको हो । 

सबैभन्दा पहिले कर्णालीमा मतदान सकिएको थियो । निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको थियो । 

केहीबेरमै मतगणना, आजै परिणाम

निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहेको छ । 

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । 

निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ । 

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् ।

१९ जनाका लागि ५१ जना चुनावी मैदानमा छन्। केही बेरपछि मतगणना शुरु हुने र आजै अन्तिम मतपरिणाम आउने छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शान्तिपूर्ण र उल्लासमय वातावरणमा मतदान भएको बताए ।उनले मतदान सकिएलगत्तै आजै गणना भई राति आठ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्