नेपाल पाकिस्तानसंग ५ विकेटले पराजित

बुधबार, माघ १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा दोस्रो हार बेहोरेको छ ।नेपाल आज राती सम्पन्न दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भयो । 

इन्ट लण्डनमा जितका लागि १९८ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो । 

संयमित शुरुआत गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको थियो। ओपनरद्वय श्यामल हुसेन र शहजैब खानले समान ३७ रन जोडे । जित निश्चितजस्तै भएका बेलामा थप २४ रन जोड्ने क्रममा ४ विकेट ढलेपछि नेपालको आशा एकाएक बढेको थियो ।

क्रिजमा सेट भइसकेका शुरुआती तीन ब्याट्सम्यानलाई आकाश चन्दले पभेलियन फर्काएका थिए । 

त्यसपछि पार्ट टाइम बलर आकाश त्रिपाठीले पहिलो ओभरमै विकेट झारेपछि खेल केही समय रोमाञ्चक बनेको थियो । 

त्यसपछि भने पाकिस्तानले निरन्तर रन बनाउँदै जाँदा नेपाली बलरहरु निरीह देखिन पुगे । १६८ रन बनाउँदा दिपेश कणेलले विकेट लिए पनि हार भने टार्न सकेनन् । 

पाकिस्तानका लागि अजान अवाइसले अविजित रहँदै ६३ रन बनाए । 

सिनियर टिमबाट विश्वकप छनोट तथा एसिया कप खेलेका अनुभवी गुल्सन झाले सफलता हासिल गर्न नसक्दा पाकिस्तानले सहज जित निकाल्यो । 

पाकिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनाउँदा भने नेपालको जितको सम्भावना देखिएको थियो । 

नेपालको इनिङ्स

नेपालले पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रनमात्र बनायो। 

विपिन रावलले सर्वाधिक ३९ रन बनाउने क्रममा ६८ बलको सामना गरेका थिए । उनले १ छक्का र ४ चौकाको मद्धतले ३९ रन बनाएका हुन् । 

दोस्रो ठूलो स्कोर दीपक डुम्रे र अतिरिक्त रनका रुपमा नेपालले पाएको हो । डुम्रेले ५८ बलमा २६ रन जोडे भने अतिरिक्तका रुपमा २६ रन उपहार पाएको हो । 

त्यस्तै कप्तान देव खनालले ३७ बलमा २३ रन जोडेर पभेलियन फर्के । सुभाष भण्डारीले २० रन बनाउँदा भरपर्दा अलराउन्डर मानिएका गुल्सन झाले भने १८ रनमात्रै बनाए । 

गुल्सनको ब्याटिङ यू–१९ मा खुलेको छैन । आकाश चन्दले ११ बलमा अविजित रहँदै १६ रन जोडे । दिपेश कणेलले १७ बलमा १३ रन बनाए। न्यूजिल्याण्डविरुद्ध शानदार ९० रन बनाएका ओपनर अर्जुन कुमालले भने पाकिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । उनले १२ बलको सामना गर्दै मात्र ६ रन बनाए । त्यस्तै आकाश त्रिपाठी पनि १० बलमा ६ रन बनाएर आउट भए। उत्तम मगरले १५ बलमा ४ रनमात्र बनाउन सके। दुर्गेश गुप्ताले रनको खाता खोलेनन् । 

पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई १ विकेटले हरायो । यो खेलसँगै पाकिस्तान र न्यूजिल्याण्ड अर्को चरणमा प्रवेश गरेका छन् । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्