सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पश्चिम नवलपरासी । सशस्त्र प्रहरी बल नं. २६ गण पश्चिम नवलपरासीले २३औं सशस्त्र प्रहरी दिवस भब्यताका साथ मनाएको छ।
सशस्त्र प्रहरी बल नं. २६ गणका प्रमुख एसपी धिरेन्द्र राज न्यौपानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रजिअ पन्थीले पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलले गरेको सीमा सुरक्षा र जिल्लाको शान्ति सुरक्षाप्रति गरेको जिम्मेवारीको उच्च मुल्यांकन गरिने बताए ।
सशस्त्र प्रहरीले सिमित श्रोत साधन र चुनौतीपूर्ण मौसमको अवस्थामा पनि जिल्लाभरमा सशस्त्र प्रहरीको कार्यसम्पाद्न उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा अझै सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गर्ने विश्वास लिएको प्रजिअ पन्थीले बताए। साथै उनले सशस्त्र प्रहरीको अवैध तस्करी नियन्त्रणमा उल्लेखनीय भुमिका रहेको बताए।
त्यस्तै एसपी न्यौपानेले कार्यक्रममा सशस्त्र प्रहरी दिवसका अवसरम सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पठाएको शुभकामना सन्देश सुनाएका थिए।
एसपी न्यौपानेले जिल्लाभरको शान्ति सुरक्षा लगायत अन्य कार्यमा सशस्त्र प्रहरीलाई विशेष सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय , सुरक्षा निकाय , स्थानीय सरकार , पत्रकार, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहने बताए।
सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित साताब्यापी विभिन्न खेलकुद तथा ब्याबसायीक प्रतियोगितामा प्रथम हुने १६ जना सशस्त्र प्रहरीलाई पुरस्कार प्रदान गर्नुका साथै सशस्त्र प्रहरीलाई सहयोग गर्ने स्थानीय दुई जनालाई सम्मान गरिएको सशस्त्र प्रहरी बल नं. २६ गणले जनाएको छ।
कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठ , जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी काजीकुमार आचार्य, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अशोक भट्ट , जनप्रतिनिधिहरु , पश्चिम नवलपरासी भन्सार प्रमुख बुद्दी कुमार चुडाल, पत्रकार, अमर सशस्त्र प्रहरीका परिवार लगायत अन्यको उपस्थिति रहेको थियो।
आज २३ औं सशस्त्र प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेशस्थित विन्ध्यावासीनी बाहिनी तथा सबै जिल्ला कार्यालयहरुमा कार्यक्रम गरिएको थियो।