आजदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध

मंगलबार, माघ ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।आजदेखि काठमाडौंस्थित न्यूरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाइएको  छ । 

काठमाडौं महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सय वटा चार पाङ्ग्रे र सात सय वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

महानगर प्रहरी प्रमुख पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । 

उनले सोमबार भने, “भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।”

उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए ।  यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्