नेपालगञ्जमा सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गरिँदै

सोमबार, माघ ८, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा 'सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन' सम्बन्धमा बसेको बैठकले बैशाख १ गतेदेखि  नगर क्षेत्रभरि सूर्तीजन्य पदार्थको उपभोग तथा विक्रि वितरणमा पूर्णरुपमा निषेध गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । 

यस्तै सूर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर ब्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसंगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरुमा सूर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सूर्तीजन्य पदार्थको उत्पादन र विक्रि वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्यांक संकलन गर्ने निर्णय पनि गरिएको चन्दले जानकारी दिए । 

"हामीले बैशाख १ गतेदेखि नगरमा पूर्णरुपमा सूर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गरेका छौं, त्यस अघि सचेतना प्रबद्र्धनसंगै तयारी अभियान चलाउँछौं," नगर प्रमुख विष्टले भने । नेपाल सरकारका उपसचिव पुष्कर नेपालले संघीय ऐनमा सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारहरुले तदारुकता देखाउन आवश्यक रहेको बताए । 

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्