सम्पन्न भयो अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठा

सोमबार, माघ ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गरेका छन् । स्थानीय समयअनुसार १२ः२९ः०८ बजे शुभ मुहूर्त भएको हो । ८४ सेकेन्डको उक्त मुहूर्त १२ः३०ः३२ बजेसम्म चलेको थियो । 

गर्भगृहमा मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, मुख्यमन्त्री योगी आदित्यनाथ, आनन्दीबेन पटेललगायत पनि साथमा रहेका थिए । आज दिउँसो २ बजेदेखि ७ बजेसम्म अतिथिहरुले भगवान् रामको दर्शन गर्नेछन् ।

पूजाको नियमअनुसार मोदीले यम नियमको पालना गरी प्राण प्रतिष्ठा पूजा गरेका हुन् । उनले ११ दिनदेखि नरिवलको पानीमात्र पिएर भुइँमा सुतेर अनुष्ठान गरेका थिए । मोदी यी दिनमा जहाँ जहाँ गए पूर्ण अनुष्ठानको पालना गरेका थिए । दान दिएका थिए । भजन सुनेका थिए । मोदीले जस्तै ६ जोडीले पनि यसरी नै अनुष्ठान गरेका थिए । 

स्थानीय समयअनुसार बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको थियो । बिहान १० बजेदेखि मंगल ध्वनि बज्न शुरु भएको थियो । 

आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिइएको थियो । करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो। 

कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणीलगायत पनि सहभागी भएका छन् । भारतीय कलाकारहरु पनि सहभागी भएका छन् । नेपालबाटसमेत सन्तहरुसँगै चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी भएका छन् ।  

यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया शुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नया मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो । 

गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो । 

अभिनेता अमिताभ बच्चन पुत्र अभिषेक बच्चनका साथ अयोध्यामा रहेका छन् । त्यसैगरी विकी कौशल, कटरिना कैफ, रणवीर कपूर, आलिया भट्ट, रोहित सेट्टी, अनुपम खेर, चिरञ्जीवी, राम चरण, कुमार विश्वास, कंगना रनौट, क्रिकेटर अनिल कुम्बलेलगायत थुप्रै सेलिब्रिटीहरु अयोध्याको राम मन्दिरमा पुगेका छन् । 

अनुपम खेरले हिन्दू धर्ममा यस्तो माहोल यसअघि नदेखेको भन्दै निकै नै उत्साही भएको बताएका छन् । गायक सोनु निगम, शंकर महादेवनले जयश्री रामको भजन गाएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्