नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल  न्यूजिल्याण्डसंग पराजित भएको छ।

यसअघि भएका दुवै भेटमा नेपाल विजयी भएकामा तेस्रो भेटमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको फराकिलो चुनौती पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् । 

अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले आज शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए । 

नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ३६ रन बनाए । नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहे । सो क्रममा १० औँ विकेटको साझेदारी राम्रो भएको थियो । 

दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए । 

न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए । 

न्यूजिल्याण्ड इनिङ्स-

टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो । नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४।३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

त्यसपछि नेपालले ४१।५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । 

कप्तान अस्करले ७५ रन बनाए । नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए । 

योसँगै न्यूजिल्याण्डले नेपालसँगको हारको श्रृंखला पनि रोकेको छ । नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 

नेपाल र न्यूजिल्याण्ड समूह डी मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको थियो ।  नेपालले आफ्नो दोस्रो खेलमा बुधबार पाकिस्तानसँग खेल्नेछ । 

साउथ अफ्रिकामा जारी  विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड छन् । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्