पक्राउ गर्न आएको प्रहरी टोलीमाथि चक्कु प्रहार, जवान र हवल्दार घाइते

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

दार्चुला । दार्चुलामा पक्राउ गर्न गएको प्रहरी टोलीमाथि एक युवकले चक्कु प्रहार गर्दा  दुई जना प्रहरी घाइते भएका  छन् । आज दिउँसो महाकाली नगरपालिका–१ दहका २४ वर्षीय उमेश कुँवरले  प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् । 

कुँवरले गरेको चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भाग र गर्धनमा चोट लागेको छ भने प्रहरी हवल्दार खड्काको शरीरको पछाडिपट्टिको भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

कुँवरले आफ्नी श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । 

जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको प्रहरीले जानकारी दिएको छ। 

चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्