खोज पत्रकारितालाई लुम्बिनी सरकारले प्रोत्साहन गर्छ: मुख्यमन्त्री चौधरी

शुक्रबार, असार २९, २०८०

दाङ । समग्र पत्रकारहरुले ग्रामीणस्तरमा रहेका समस्यालाई पनु उठाउनुपर्ने भन्दै खोज पत्रकारितालाई सरकारले प्रोत्साहान गर्ने लुम्बिनी सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् ।

दाङको देउखुरीमा आज एक अनलाइन पत्रिकाको शुभारम्भ गर्दे मुख्यमन्त्री चौधरीले पत्रकारिताले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

सत्य तथ्यमा आधारित भएर लेख्न सबै पत्रकारलाई आग्रह गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारका काम कारबाहीको विषयमा जनतालाई सुसूचित गराउने दायित्व पत्रकारको भएको बताए ।

उनले प्रदेश सरकारले छिटै पूर्णता पाउने बताउँदै सरकार विस्तारको विषयमा छलफल चलिरहेको समेत बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले सरकारका काम र आगामी कार्य योजना ५० लाख प्रदेशवासीका सामू पुर्‍याउन आग्रह गरे ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले प्रदेश सरकारले गरेका गतिविधिलाई समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गराउन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसिल्नाले पत्रकारिताले समाजमा रहेका विकृति विसङ्गतिलाई निरुत्साहित गर्ने गरी सञ्चारमाध्यमले काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्