सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेका छन् । असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड युगान्डा गएका छन् ।
उनी आज बिहान कतार एयरलाइन्सबाट त्यसतर्फ गएका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्न कार्यक्रम रहेको छ ।
सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछ ।
यसअघि मन्त्र स्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री साउद माघ १ गते राति नै पुगिसकेका छन् ।