सांसद दीपक गिरीले गरे दाङको दंगीशरण गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन

बुधबार, माघ ३, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको दंगीशरण गाउँपालिकाको नवनिर्मित सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ।

हेकुलीस्थित दंगीशरण गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सांसद दीपक गिरीले भने-" पहिलेको हेकुली गाविस र अहिलेको दंगीशरण गाउँपालिका हेर्नुस, हामीले सिंचाइ , पुल, पक्कि सडक तथा नदीमा तटवन्ध समेत पाएका छौं, विकास निर्माणमा कुनै पनि राजनितिक आग्रह पुर्वाग्रह छैन’, 

पूर्व सिंचाइमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद  गिरीले अवको आन्दोलन भनेको विकाश, शुसासन र समृद्धिकालागी हुनुपर्ने बताएका छन् । विभिन्न चरणका राजनितिक आन्दोलनले मुलुकमा संघात्मक संविधान जारी भएर संघियताको अभ्यास गरीरहेको अवस्थामा अव सवैले समृद्धिकालागी एक जुट हुनुपर्ने बताएका छन् ।

तत्कालीन १२ वर्षे सशस्त्र द्वन्दलाई तत्कालीन  प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएको स्मरण गर्दै सांसद गिरीले जनताको विकास निर्माणको आकांक्षालाइ कुनै पनि आग्रह पुर्वाग्रह नराखी पुरा गर्न आफू प्रतिवद्ध रहेको पनि बताए । आफू संघीय संसदमा विधायकका रुपमा रहेको बताउँदै उनले आफ्नो दाङ क्षेत्र नम्बर ३ मात्र नभएर सिंगो मुलुकको समृद्धिका लागी संसदमा आवाज उठाउदै आएको पनि अभिव्यक्ति दिए ।

‘तपाइले मलाइ निर्वाचित गरेर संसदमा पठाउनु भएको हो, तपाइको विकास र समृद्धिका चाहनालाई पुरा गर्न अहोरात्र संसदमा आवाज उठाइरहेको छु,  गिरीले भने, संसद नभएको वेला मात्र जिल्लामा आएर जन आकांक्षा बुझ्ने हो ।’साथै उनले अब दाङ जिल्लालाई सडक र हवाई यातायातले पनि जोड्न आफू अहोरात्र खटिरहेको पनि बताए ।

‘कसले के भने भन्ने मलाइ थाहा छैन, तर क्षतविक्षत भएको चारलेन सडक बैशाख महिनाभित्रै पूर्ण ठेक्का  प्रक्रियामा जाने छ’,  गिरीले भने । आफुहरुले संसदमा आवाज बुलन्द गरेपछि मात्र सरकारले क्षतविक्षत भएको सडक टालटुल गर्ने बजेट दिएर काम समेत भैसकेको बताउदै अव यो सडकलाइ चारलेनका रुपमा स्तरबृद्धि गर्नुको कुनै विकल्प नभएको पनि बताए ।

त्यस्तै सांसद गिरीले तुलसीपुरको टरीगाउँ  विमानस्थललाई पनि पूर्ण  डिपिआर गरेर ठुला जहाज अवतरण गर्न सक्ने एयरपोर्टका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘अव हवाई सेवा सन्चालनका लागी क्षेत्रीयताको कुनै विवाद छैन, टरीगाउँ विमानस्थलको स्तरोन्नतीको कुनै विकल्प नभएकाले पुनः डिपिआर बनाउने अन्तिम तयारी भैरहेको छ’,  गिरीले भने ।

टरीगाउँ विमानस्थलमा धावन मार्ग विस्तार गरी ठुला जहाज चल्ने बनाउन आबश्यक जग्गा समेत रहेको उल्लेख गर्दै एयरपोर्टमा कुनै राजनिती नगर्न पनि उनले आग्रह गरे । त्यसैगरी सुकौराकोट दरवारलाई पनि पुर्न:उत्थान गरी एउटा ऐतिहासीक पर्यटकिय क्षेत्रका रुपमा विस्तार गर्न पनि आफू लागी परेको उनको अभिव्यक्ति थियो । साथै उनले कार्यक्रममा बोल्दै जनतालाइ दिने कानुन सम्मत सेवाका लागी आम राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु कुनैपनि आग्रह पुर्वाग्रहमा लाग्न नहुने पनि सुझाव दिए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, ववइ गाउँपालिकाका अध्यक्ष कुल वहादुर क्षेत्री, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी, समन्वय समिति सदस्य टोपाराम चौधरी, नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्का, नेकपा एमाले दंगीशरण इकाइ सभापति तथा वडा नं ७ का अध्यक्ष रेशम वली, वडा नम्बर १ का वडाध्यक्ष रेशम भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका विभिन्न समूहका थारु नृत्य तथा सांगीतिक प्रस्तुती देखाइएको थियो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतहरु निमराज भट्टराइ, अमर वहादुर वली, खिम प्रसाद खड्का, चन्द्र कान्त पौडेल तथा भवन निर्माण कम्पनी शाह निर्माण सेवा बाँकेलाइ पनि कदरपत्रले सम्मान गरिएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका सूचना अधिकारी टेक वहादुर खत्रीले गरेका थिए ।

नवनिर्मित भवन विसं २०७८ सालमा निर्माण सम्झौता भएको थियो । उक्त भवन विसं २०८० असार ३० गते निर्माण सम्पन्न भएको थियो ।  अपांग मैत्री संरचना, वालमैत्री, ज्येष्ठ नागरीक मैत्री तथा लैगिक मैत्री तीन तले सो भवनमा सूचना प्रविधि जडित सुविधासम्पन्न २५ कोठा सहित स्तरीय कार्यपालिका बैठक हल समेत रहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्