कहाँबाट आएको थियो त्रिशूलीमा खसेको भारतीय जीप? अझै छैन् अत्तोपत्तो ..

बुधबार, माघ ३, २०८०
Neuro hospital Nepalgunj

चितवन। सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशूली नदीमा डुबेको अवस्थामा मंगलबार बिहान फेला पारेको भारतीय नम्बर प्लेटको बीआर ०९ जी सी १४३० बोलेरो जीप कसको हो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।

भारतीय नम्बर प्लेटको उक्त बोलेरो जीप ‘कहाँबाट कहाँ जाँदै थियो’ भन्नेबारे अहिलेसम्म खुलेको छैन । जीपको नम्बरको आधारमा ‘इन्ट्री प्वाइन्ट’ पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भारतीय नम्बरको सवारी–साधन नेपाल आउँदा प्रवेश अनुमति लिएर रसिद काटेर आउनुपर्छ । तर अझ उक्त जीपको बरेमा केही पत्ता लाग्न सकेको छैन ।

मंगलबार एकाबिहानै पानीले भिजेको एक जना युवक जीप खसेको स्थान नजिक ३ नम्बर पुलबाट भरतपुरतर्फ जाने गाडीमा चढेर गएको एक जना ट्याङ्कर चालकले प्रहरीलाई बताएका थिए। चितवन प्रहरीका अनुसार ट्याङ्कर चालकले बताए अनुसार उनी चालक हुन वा होइनन् त्यो बारेमा केही जानकारी फेला परेको छैन ।  ती व्यक्ति सम्पर्कमा आएका छैनन्।

स्थानीयहरुले नदीमा बत्ती बलेको देखेपछि  बिहान ४ बजेर ५० मिनेटमा दुर्घटनाबारे प्रहरीलाई खबर गरेका हुन् । तत्कालै बत्ती बलिरहेको स्थानमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोरको टोलीले खोजतलास गर्दा भारतीय जीप फेला पारेको हो।

भारतबाट नेपाल प्रवेश गर्दा भारतीय सवारीसाधनले सीमामा अनिवार्य भन्सार पास र यातायातमा पटके बनाएर आउनुपर्छ। तर पनि उक्त भारतीयका बारेमा अझैसम्म केही अत्तोपत्तो नै छैन । त्यस जीपमा को-को सवार थिए? के त्यहाँ चालक मात्रै थिए? वा अन्य यात्रु थिए? यदी अन्य यात्रु थिए भने कहाँ गए उनीहरु?

यदी चालक मात्रै भएको भएपनि त्यसरी नदीमा खसेको जीप भित्रै चालक हुनुपर्ने हो वा उनी बाँच्न सफल भएको भएपनि कहाँ गए ती चालक? अनौठो विषय बन्न पुगेको छ।तर यता प्रहरी भन्छ-" सायद दुर्घटनाले प्रहरीको डरले चालक भागिसकेको हुनुपर्छ"।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्