नेपाल एयरलाइन्सका जहाज ग्राउण्डेड हुँदा काठमाडौंमा २७६ र दोहामा २५४ यात्रु अलपत्र

मंगलबार, माघ २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । दोहा उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण  ‘ग्राउण्डेड’ हुँदा  २ सय ७६ यात्रु अलपत्र परेका छन् ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । 

ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए । “हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुहरुलाई आज बेलुकी ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई अपरान्ह ४ बजे विमानस्थलको समय दिइएको छ”, प्रवक्ता पौडेलले भने ।

निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ । 

अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौँबाट दोहा उडानको  तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको छ भने दोहाबाट नेपाल आउने २ सय ५४ यात्रु दोहामा अलपत्र परेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्