दाङ बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

शनिबार, पुस २८, २०८०

नेपालगन्ज । दाङको भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले  निर्देशन दिएकी छिन् । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् ।

दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिइन् । अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिन् । ‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ’ उनले भनिन्, ‘तपाईंहरू (चिकित्सक)ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’

आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिइन् । मन्त्री केसीले नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको समेत बताएकी छिन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरेकी छिन् ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १३ जना घाइतेहरूमध्ये एक जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्