नेपालगञ्ज सहकारी रकम हिनामिना प्रकरण: १९ जनालाई जेल सजाय

शुक्रबार, पुस २७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज। नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेड, रकम अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई जिल्ला अदालत बाँकेले  जेल सजायसहित जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।

जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई १ वर्षदेखि ५ वर्षसम्म कैद सजायसहित ५० हजारसम्म जरिवाना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए । उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट  २४ करोड ९१ लाख रुपैयाँ बिगो भराई ५ वर्ष कैद र  ५० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ । सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट ४ करोड ४८ लाख ९५९ रुपैयाँ बिगो भराउनका साथै ५० हजार रुपैयाँ  जरिवाना र ५ वर्ष कैद सजाय तोकिएको सूचना अधिकारी भट्टराईले जानकारी दिए । 

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गङ्गाधर सुवेदीबाट २ करोड ८३ लाख ७३ हजार २ सय ९५ रुपैयाँ बिगो भराउन,  ५० हजार रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजाय गर्ने अदालतले आदेश गरेको छ । लिला भन्ने लिलाप्रसाद वलीबाट ८९ लाख २९ हजार ७२५ बिगो रुपैयाँ भराउन,  ५० हजार रुपैयाँ  जरिवाना र ५ वर्ष कैद सजाय तोकिएको छ । 

सहकारीका कर्मचारी किरण श्रेष्ठबाट  ८६ लाख ३५ हजार ४५४ रुपैयाँ बिगो, ५० हजार रुपैयाँ  जरिवाना गर्न र ५ वर्ष कैद सजाय गरेको छ । गौरवकुमार श्रेष्ठबाट १ लाख २९ हजार ४९१ रुपैयाँ बिगो भराउन, ४० हजार रुपैयाँ जरिवाना गर्न र ४ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भट्टराईले बताए । 

त्यसैगरी, सहकारीका कर्मचारी सुरतराम खटिकबाट रु ९८ लाख ४८ हजार दुई सय ७४ बिगो भराउन, रु ५० हजार जरिवाना गर्न र पाँच वर्ष कैद, बलराम यादवबाट रु ५३ लाख ६९ हजार छ सय ५२ बिगो, रु ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर बिकबाट ३३ लाख ६० हजार ६८१ बिगो,  ५० हजार रुपैयाँ  जरिवाना र ५ वर्ष कैद सजाय गर्न आदेश दिएको छ । 

सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई १ वर्ष कैद र  ५ हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई २ वर्ष कैद र ५ हजार जरिवाना गर्ने अदालतले आदेश गरेको छ । 

सहकारी संस्थाका पूर्वअध्यक्षहरु सिद्धिकुमार महर्जनलाई २ वर्ष ६ महिना कैद , ५हजार जरिवाना,  अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई ५-५  वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको अदालतलका सूचना अधिकारी भट्टराईले जानकारी दिए  । 

यसैगरी, सहकारीका उपाध्यक्ष रवीन्द्र थापालाई ३ वर्ष कैद र ५ हजार जरिवाना गरिएको छ । सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई १ वर्ष कैद र  ५ हजार रुपैयाँ जरिवानाको आदेश भएको छ ।

बाँकेको बहुचर्चित यस सहकारी रकम हिनामिना प्रकरणमा  ४१ जनालाई प्रतिवादी बनाइएको थियो । ४३ करोड रुपैयाँ हिनामिनामा प्रकरणमा अन्यले सफाइ पाएका छन् ।  ७ जना अहिले  कारागारमा रहेका छन् । अरू धरौटीमा छुटेका थिए  । 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्