राप्तीसोनारीमा गाउँ प्रहरी राख्ने बाटो खुल्यो

शुक्रबार, पुस २७, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । गाउँसभाको १४औं अधिवेशनबाट  विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गरेका थिए ।

गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उनले सभामा पेश गरे । त्यसैगरी क्याम्पस कोष संचालन कार्यविधि २०८०, पूर्वाधार आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, राप्तीसोनारी मर्मत सम्भार कोष संचालन कार्यविधि २०८०, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत प्रमाणपत्र सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका अनुदान सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका विभिन्न वर्ग आवास कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यविधि २०८० र फिल्डमा काम गर्ने प्राविधिक कर्मचारी परिचालन कार्यविधि पनि उनले पेश गरे ।

प्रस्तुत ऐन र कार्यविधिमा गाउँसभा सदस्य कमला विक र छविलाल कामीले सुझावसहितको टिप्पणी राखेका थिए । त्यसबाहेक अन्य कसैले विमति नजनाएपछि सभाध्यक्ष समेत रहेका पालिका अध्यक्ष तप्तबहादुर पौडेलले पारित भएको घोषणा गरे । १२औं र १३औं गाउँसभाले ४० वटा ऐन र कार्यविधि पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका अझै ३२ वटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिकाहरु कार्यपालिका बैठकले पारित गरिसकेको छ । त्यसैमध्यबाट १४औं गाउँसभाले ९ वटा ऐन र कार्यविधि पारित गरेको हो । अब गाउँपालिकालाई गाउँ प्रहरी राख्ने बाटो खुलेको छ ।

गाउँसभामा उपाध्यक्ष मनिषासिंह थारुद्वारा प्रस्तुत आर्थिक ऐन २०८० मा प्रथम संशोधन प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । त्यसैगरी सुशासन समिति संयोजक शालिकराम डाँगीद्वारा प्रस्तुत सुशासन समितिको प्रतिवेदन र लेखा समिति संयोजक केशवराज दमाईद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पनि गाउँसभामा सर्वसम्मत पारित भएको छ । गाउँसभालाई सम्वोधन गर्ने अधिकांश गाउँसभा सदस्यहरुले पालिकाको सम्बृद्धिका लागि सबैको एकता जरुरी रहेको औंल्याएका थिए । उनीहरुले विकासलाई समानुपातिक ढंगबाट लैजान सके पालिका सम्बृद्ध बन्ने उद्घोष गरेका थिए । गाउँपालिकाका अध्यक्ष पौडेलले सवैको समन्वय र सहकार्यबाटै अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सुशासन र पारदर्शिता कायम गर्दै पालिकाका कार्यक्रमहरु अघि बढिरहेको उल्लेख गरे ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष थारु, वडा नम्बर १ का अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का अध्यक्ष मिनकुमार चौधरी, ४ का अध्यक्ष मिनराज खड्का, ५ का अध्यक्ष झगरु थारु, ६ का अध्यक्ष लवराज खरेल, ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल थारुले आ-आफ्नो धारणा व्यक्त गरेका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्