राप्तीसोनारीबाट सिकलसेल नि:शुल्क बीमा कार्यक्रम सुरु

बुधबार, पुस २५, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गर्दै बीमा कार्यक्रमको सुरुवात गरेका हुन् ।

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताए । उनले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न वीमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको पनि बताए । उनले थारुबाहुल जिल्लाहरुमा वंशाणुगत सिकलसेल र थालेसिमिया रोगको अवस्था जटिल जनस्वास्थ्य समस्या भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी ढंगबाट लैजाने प्रतिबद्धता जनाए । सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी संचालन गरिने बताए । उनले उक्त अस्पतालका लागि प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

सहरी विकास मन्त्री नमुनाले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्यआर्जनसँग जोड्न आवश्यक रहेको बताइन्। उनले रोगबाट पीडित परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन आवश्यक रहेको औंल्याइन् । लुम्विनी प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले सिकलसेल तथा थालेसिमिया बिरामीलाई उपचार र बीमासँगै आर्थिक आयआर्जनका कार्यक्रमसँग जोड्ने गरी योजना ल्याउन मन्त्री खनालको ध्यानाकर्षण गराइन् । उनले सिकलसेलका बिरामीलाई आजीवन उपचारको व्यवस्था सरकारले गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बीमा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिए । ७० हजार जनसंख्या रहेको राप्तीसोनारीमा ३५ हजारको संख्यामा थारु समुदाय रहेकाले उनीहरु सबैको स्क्रिनिङ गरेर रोगीको पहिचान गर्ने अभियानमा पालिका रहेको पनि अध्यक्ष पौडेलको भनाई छ । उनले सिकलसेल जाँचका लागि आवश्यक पर्ने केमिकल महँगो पर्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहयोगको आग्रह पनि गरे

वीमा सुभारम्भ कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य माया पुन, मीना सिद्धिकी, सुशिला नेपाली, गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, भेरी अस्प्ताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, राप्तीसोनारी र नरैनापुरका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले गरेको राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता मीनराज खड्काले जानकारी दिए ।

प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा ३ हजार ३ सयदेखि चार हजारको हाराहारीमा सिकलसेलका रोगी पुष्टि भएका छन् । ती मध्ये कतिपयलाई स्थानीय सरकारले आफैं बीमा गरिदिएको छ । बीमा कार्यक्रममा नसमेटिएका लक्षित वर्गलाई प्रदेश सरकारले वीमा गर्ने नीति लिएको लुम्विनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जानकारी दिए ।

३ हजार ५ सय रुपैयाँको वीमा गरेवापत उनीहरुका ५ जना परिवारले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् । सिकलसेल रोगीलाई भने संघीय सरकारले नै उपचार खर्च एक लाख दिँदै आएको छ । सिकलसेलका बिरामीले आजीवन औषधि खानु पर्ने भएकाले यो रकम अपुग हुने गरेको पीडितहरु बताउँछन् ।

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्