प्रहरी प्रशासनको सक्रियताले बाँकेमा तस्करी घट्यो

मंगलबार, पुस २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । बाँकेमा प्रहरी प्रशासनको सक्रियताले  अवैध तस्करी आजभोलि बन्द जस्तै भएको छ । जिल्ला प्रहरी बाँके र  सशस्त्र प्रहरी बल नम्बर ३० गणको कडाईले अन्य साना नाकाबाट हुने अवैध तस्करी समेत बन्द भएको छ । एकै रातमा सीमापारीबाट लाखौं रुपैयाँको अवैध सामग्री तस्करी गर्नेहरु सुरक्षा फौजको कडाईले  शान्त बसेका छन् । तस्करी गर्न नपाएपछि उनीहरु अन्य काम खोज्दै गरेको समेत पाइएको छ ।

बाँके प्रहरी र सशस्त्र प्रहरीले नाकामा निगरानी बढाउँदै जाँदा तस्करी गर्नेहरुले थोरै मात्रामा भारतबाट भन्सार छलीका सामग्री ल्याए पनि बरामद हुन थालेपछि उनीहरु अन्य कामको बिकल्पमा जान थालेका हुन् । केही समय अघि नेपालगञ्जका नाकाहरुमा अवैध तस्करी गर्नेहरुको दैनिक भीड लाग्ने गरेको भए पनि हिजो आज भने उनीहरु गुप्तबास झै भएका छन्। केही तस्करहरु भन्छन्, "नेपाल प्रहरी र सशस्त्रको कडार्ईले सबै काम बन्द भयो, अब अरु नै काम खोज्नुपर्छ ।"

जिल्ला प्रहरी बाँकेका एसपी सुवासचन्द्र बोहरा र सशस्त्र प्रहरी बल नम्बर ३० गणमा रमेश विक्रम शाही प्रमुखका रुपमा छन् । अवैध तस्करी हुन दिनुहुन्न भन्ने सोचमा रहेका सुरक्षा प्रमुखहरुले दिएको निर्देशनको पालना गरेका सुरक्षाकर्मीहरुले नेपालगञ्जका अन्य नाकाबाट हुने गरेको अवैध तस्करी रोक्न सफल हुँदै गएका छन् । बाँके प्रहरी र सशस्त्र प्रहरीले अवैध तस्करी भएको सामग्रीलाई गोदाममै गएर छापा मारेर बरामद गर्न सुरु गरेपछि तस्करी गर्नेहरुको मनोबल कमजोर बन्न पुगेको हो । यसले अवैध तस्करी धेरै कम भएको छ । हुन त खुला सीमाको फाइदा उठाएर अवैध सामग्री नेपाल  नआउने भन्ने चाहिँ  होइन तर त्यस्ता अवैध सामग्री  ल्याए पनि सुरक्षा फौजले धमाधम बरामद गर्दै गएपछि बाँकेको नेपालगञ्ज लगायतका स्थानबाट हुने अवैध तस्करी धेरै कम भएको हो ।

त्यस्तै बाँके प्रहरीका एसपी बोहराले नेपालगञ्जमा चोरी हुन सक्ने स्थानमा निगरानी बढाएपछि चोरीका घटनामा समेत कमी भएको छ । त्यसो त नेपालगञ्जमा चोरी हुँदै नभएका भने होइनन् तर प्रहरीको व्यापक सक्रियतामा चोरी गर्ने गिरोहका सदस्यहरु पक्राउ पर्दै गएका छन् । त्यस्ता गिरोहलाई प्रहरीले पक्राउ गरे पनि कडा कानुन नभएकाले सजिलै धरौटीमा रिहा हुने र देशमा आर्थिक मन्दीकै कारण बेरोजगारी सृजना हुँदा केही चोरीका घटना भएको देखिन्छ। नेपालगञ्जबाट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरे पनि खुला सीमाका कारण चोरी गरिएका मोटरसाइकल भारतमा लगेर जाने हुँदा त्यस्ता सवारीसाधन फेला पार्न नसकिएको समेत देखिन्छ। तर, बाँके प्रहरीले चोरी भएका दर्जनौं मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइसकेको छ । 

त्यस्तै प्रहरीको सक्रियताले नेपालगञ्जमा हुने अवैध कार्यमा धेरै कमी भएको छ भने त्यहाँ हुने जुवा समेत बन्द भएका छन् । बाँकेका एसपी बोहरा भन्छन् -" प्रहरीले शान्ति सुरक्षामा कुनै  कसर बाँकि नराखी काम गरेको हुँदा जनताले प्रहरी भएको अनुभुतिको महसुस गर्नुभएको छ।"

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्