महामन्त्री गगन थापाको यस्तो छ लिखित असहमति..

सोमबार, पुस २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले गरेको उम्मेदवार छनौटमा महामन्त्री गगन थापाले लिखित असहमति नै जनाएका छन् ।

महामन्त्री थापाले लिखित असहमति जनाउँदै पार्टीले चयन गरेका उम्मेदवारमा मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भनेका छन् ।

कांग्रेसले सिट भागबण्डामा १० सिट पाएकामध्ये संस्थापन पक्षले ७ र संस्थापनइतर (शेखर–गगन पक्ष) लाई  ३ जना मात्रै उम्मेदवार बनाइएको भन्दै महामन्त्री थापाले असहमति जनाएका हुन्।

कांग्रेस बैठकबाट राष्ट्रिय सभामा कुनै पनि अवसर नपाएका वा अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा मापदण्ड मिचेर संस्थापन पक्षले  बनाए पनि आफू निकटलाई उम्मेदवार बनाएको भन्दै इतर समूहले आपत्ति प्रकट गरेको छ।

यस्तो छ महामन्त्री थापाले असहमति-

१- हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो ।

संसदीय बोर्डक  बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अतः यो निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

गगनकुमार थापा

महामन्त्री

 

 

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्