राष्ट्रिय सभाका लागि यी हुन् कांग्रेसका दश उम्मेदवार, संस्थापन इतरका तीन जना मात्रै

सोमबार, पुस २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले  उम्मेद्वार चयन गरेको छ। जसअनुसार कांग्रेसले कृष्णप्रसाद सिटौलादेखि जितजंग बस्नेतलाई समेटेर राष्ट्रिय सभाको उम्मेद्वार चयन गरेको हो ।

सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार १० सिट पाएको कांग्रेसले आज बिहान उम्मेद्वार टुंगाएको हो । 

रातभर कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा बसेको बैठकले टुंगो लगाएका नामहरु यसप्रकार छन्–

कोशी प्रदेशमा —  कृष्णप्रसाद सिटौला (अन्य)

मधेस प्रदेशमा — आनन्दप्रसाद ढुंगाना (अन्य)

बागमती प्रदेशमा— जितजंग बस्नेत (अन्य)

विष्णुदेवी पुडासैनी (महिला)

गण्डकी प्रदेशमा— किरणबाबु श्रेष्ठ (अन्य)

पदमबहादुर परियार (अपाङ्गता–अल्पसंख्यक)

लुम्बिनी प्रदेशमा — विष्णुकुमारी सापकोटा (महिला)

कर्णाली प्रदेशमा— कृष्णबहादुर रोकाया (अन्य)

सुदूरपश्चिम प्रदेशमा— बलदेव बोहरा (अन्य)

नारायणदत्त भट्ट (अपाङ्गता–अल्पसंख्यक)

भागबण्डामा संस्थापन इतरको असहमति

यो भागबण्डामा भने कांग्रेसको संस्थापन इतरले असन्तुष्टि जनाएको छ । इतर पक्षले ४ सिट मागेकामा ३ सिटमात्र पाएको हो । 

जसका कारण महामन्त्री गगनकुमार थापाले लिखित असहमति जनाएका छन् । अर्जुननरसिंह केसी र बलबहादुर केसीले मधेसमूलका कोही नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

इतर पक्षका नेता डा‍. शेखर कोइराला बैठक बीचमै छाडेर गएपछि सभापति देउवाले फर्काउन लगाएका थिए । उनी फर्किए पनि सिट संख्या बढाउन सकेनन् । 

गण्डकीका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीकी विष्णुकुमारी सापकोटा कोइराला पक्षका हुन् । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्