राष्ट्रिय सभाका लागि गठबन्धनले लगायो सिटको टुङ्गो, कांग्रेसले पायो १० सिट

आइतबार, पुस २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रिय सभाको १९ सिटमा बाँडफाँट गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो । 

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, २ वटा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिने गरी टुङ्गो लागेको बताए ।

उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरूका बीचमा संयुक्त रूपले उम्मेदवारी दिने विषय टुङ्गो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, २ वटा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिने गरी टुङ्गो लागेको छ । 

तदनुरूप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ । आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौँ र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुङ्गो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुङ्गो लाग्नेछ ।’

प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुङ्गो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताए। 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्