हिजो बस्न नसकेको कांग्रेस बैठक आज बस्दै, राष्ट्रिय सभा उम्मेदवार छान्दै

आइतबार, पुस २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बैठक बस्न लागेको हो । हिजो बस्ने भनिएको बैठक सत्ता गठबन्धनबीचको बैठक निष्कर्षमा पुग्न नसकेपछि आजका लागि सारिएको हो । 

बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभामा हुने १९ सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्नु हो । राष्ट्रपतिले मनोनित गर्ने १ जनासहित २० जनाको पदावधि फागुनमा सकिँदैछ । 

त्यसअघि माघ ११ गते १९ जनाका लागि निर्वाचन हुँदैछ । कांग्रेस सत्तागठबन्धनमा भएकाले यसपालि पनि चुनावी तालमेल हुँदैछ । तर कांग्रेसले कति सिट पाउने भन्ने अझै यकिन भएको छैन । खाका बनेको भए पनि अन्तिम निर्णय गर्न बिहान फेरि बैठक बस्दैछ । 

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि समेट्नु पर्नेमा जोड दिए पनि त्यो असफल भएपछि अब २० सिट सत्ता गठबन्धनले नै बाँड्ने छन् । तर गठबन्धनमा समावेश भएका सबै दलले हैसियत भन्दा माथि गएर भाग खोजेपछि भने सिट बाँडफाँडमा समस्या देखिएको छ । 

एमालेले गत शुक्रबार मात्रै १९ जना नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धनलाई भागबन्डामा सजिलो भएको भनिए पनि माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा माथि गएर सिट मागेपछि कांग्रेस र माओवादीलाई समस्या भएको छ । 

गठबन्धन हुँदा यसअघि जुन दलले जति सिट जितेको थियो त्यति पाउने र एमालेको ९ सिटमा भागबण्डा गर्ने पुरानो सहमति रहे पनि त्यसलाई कुल्चेर नेकपा एस, जसपा लगायतका दलहरुले बढी सिट खोजेका छन् । 

शनिबार रातिको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ तथा जसपाले १ सिट पाउने भनिए पनि एसले असहमति जनाएको छ । अन्य दलको भूमिका के हुन्छ भन्ने पनि अन्योल देखिएको छ । 

यद्यपि एमालेले भने गठबन्धनभित्रै खेल्न खोजिरहेको छ । 

यो परिस्थितिबीच कांग्रेसले आज कस्तो निर्णय गर्छ भन्ने पाटो महत्वपूर्र्ण रहेको छ । 

उम्मेदवार छान्न पार्टीले बनाएको मापदण्ड

कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीबाट उम्मेदवार छनोट गर्दा अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । 

बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा पार्टीका योगदान दिएका तर अहिलेसम्म कहिँ कतै अवसर नपाएकालाई र ल्याटरल इन्ट्रिमा गएर योग्य मानिसलाई ल्याउन जोड दिइएको थियो । 

केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताए । उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताए । 

कस्तो हुनुपर्छ मापदण्ड ?

कांग्रेसले बनाउनु पर्ने मापदण्डको सूत्र छ । यसका लागि पहिले राष्ट्रिय सभाको महत्व बुझ्नु जरुरी छ । 

राष्ट्रिय सभा सबैभन्दा पहिले बेलायतबाट हाउस अफ लर्डस भनेर शुरु भएको हो । त्यहाँ शुरुआतमा कुलिन घरानाका मान्छेहरु र धर्माधीकारीहरु सहितलाई लिएर आइन्थ्यो । त्यसैगरी बौद्धिक वर्गका मानिसहरुलाई पनि लिएर आइन्थ्यो । 

त्यसपछि वेष्ट मिनिस्टर शैलीकै भनेर अन्य देशहरुमा कतिपय ठाउँमा धर्माधीकारीहरु नै ल्याइन्छ भने धेरैजसो ठाउँमा बौद्धिक वर्गहरु नै ल्याइने गरिन्छ । 

राजनीतिमा पनि त्यस्तो किसिमका बौद्धिक र अनुभवी विज्ञहरु नै हुने गर्दछन् । भारतमा पनि त्यो अभ्यास छ । केही राजनीतिज्ञ त हुन्छन् नै । 

जस्तो प्रधानमन्त्री नै बन्नुपर्ने मान्छे चुनावमा भएन भने पार्टीको नेता अपरहाउसमा आएर प्रधानमन्त्री बनेका पनि छन् । 

तर नेपालमा राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न पाइँदैन । भारतमा राजनीतिक मूलधारका लिएर आउँदा पनि आईके गुजराल, मनमोहन सिंह अपरहाउसमा आएका थिए । 

अब कांग्रेसले पनि यही धार पकड्नु जरुरी छ । पार्टीका कार्यकर्ता कुनै विषयका विज्ञ हुन् र उनीहरुले पनि केही गर्न सक्छन् भने तिनीहरुलाई पनि समेट्नु जरुरी छ । 

तर पछिल्लो समय जसरी ‘ल्याटरल इन्ट्रि’ मा विश्वभर नै चर्चा भइरहेको छ त्यसरी नै नेपालको राष्ट्रिय सभामा पनि ल्याउन सक्ने हो भने संसदको गरिमा बढ्ने छ । 

प्रतिनिधि सभाका जस्तै सांसदहरु आउने हो भने त्यसले राष्ट्रिय सभालाई पनि बिगार्ने निश्चित छ । 

यसरी मूलधारको राजनीतिमा कार्यक्षमता नभएका मानिसहरु आउँदै जाने र काम पनि हुन नसक्ने हो भने त्यसले ठूलो दुर्घटना निम्त्याउँछ नै। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग मिलेर सरकार चलाउँदा अनुभवी पूर्व अर्थमन्त्रीहरु हुँदासमेत उनले पूर्व गभर्नर डा। युवराज खतिवडालाई बनाए ।

त्यसरी नै खोज्नु जरुरी छ । भलै खतिवडाको कार्यकाल कस्तो भयो त्यो जगजाहेर छ । तर काम गर्न खोज्ने र भिजन भएकालाई राष्ट्रिय सभामा ल्याउने हो भने देशको गरिमा पनि रहने छ । 

केही दिनअघि भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीबाट मन्त्री भएका आठ जना मन्त्रीहरुलाई गरेका राम्रा आठ काम सुनाउन भन्दा कसैले पनि सकेनन् । अर्थात् केही काम नै भएको छैन । 

कम्तीमा राष्ट्रिय सभामा सक्षमहरुलाई लिएर जाने हो र ल्याटरल इन्ट्रि दिने हो भने त्यस्तालाई मन्त्री बनाउँदा कांग्रेसलाई त फाइदा हुन्छ नै समग्र देशको गौरव पनि बढ्न जान्छ । 

अस्तिर राजनीति ठाउँमा आउन सक्छ । जनमानसमा फैलिएको दलहरुप्रतिको वितृष्णा कम हुन सक्छ । यसले नै संसदीय गरिमा पनि बढाउन सक्छ । 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्